१७ बैशाख २०८१, सोमबार

पश्चिम जाजरकोटमा गाडीवालाको मनपरी ढालामा बाेक्छन यात्रु

कर्णाली अपडेट

जाजरकोट । पश्चिम जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ठूला बस पुग्दैनन् । बस गुडाउन मिल्ने सडक पनि गतिलो छैन् । त्यहाँ निजी र सार्वजनिक साना (बोलेरो) गाडीहरु मात्र जान्छन् । ति गाडीहरुलाई समेत गाउँपालिकाको केन्द्र सम्म पुग्न हम्मेहम्मे पर्छ । सडक गतिलो छैन्, वीचवीचमा ठूलठूला खाल्डाखुल्डी छन् । उकालो चढ्नका लागि र ओरालो झर्नका लागि गाडीको गियर अपडाउन गरी रहनुपर्छ । तर त्यही सडकमा गाडीवालाहरुले कोचाकोच यात्रु बोकिरहेका छन् ।

गाडीको अगाडिको सिटमा एक जना राखिन्छ । तर त्यहाँ नै चार जना भन्दा बढी यात्रुहरु राखेर ड्राईभरले गाडी चलाईरहेका छन् । ‘यहाँ अरु गाडी पाउँदैन्, एक स्थानीयले भने, ‘अर्काे गाडी कुर्दा धेरै समय लाग्छ, गाडीवालाले कोचाकोच यात्रु हालेको हुन्छ, त्यसैैमा स्थानीय चढ्न बाध्य छन् ।’

‘गाडीको सिटमा क्षमता भन्दा दोब्बर यात्रु राखिन्छ त्यहाँ नअटेकालाई पछाडि पट्टिको ढालामा राखिन्छ, त्यहाँ पनि त्यस्तै कोचाकोच हुन्छ, उनले थपे, ‘हामीले विरोध गर्दा उल्टै लफडा गर्छन्, प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन् ।’ सडकमा धेरै गाडी छैनन् । रिर्जभ गरेका गाडीले समेत धेरै यात्रु बोक्ने गरेको स्थानीय बताउँछन् । गाडीवालाहरुले मनपरी भाडा लिईरहेको उनीहरुको गुनासो छ । पश्चिम जाजरकोटको जुनीचाँदे मात्र होइन् शिवालय, छेडागाड नगरपालिकामा जाने गाडीहरुले समेत त्यसरी नै यात्रुहरु बोकेर हिडिरहेका छन् ।

‘हामीले भनेको नभन्नुहोला सर, हामी सँग झगडा गर्छन् अर्का स्थानीयले भने, ‘यहाँको चलन यस्तै छ, मनपरी ढंगले गाडी चलाईरहेका छन् । गाडीको क्षमता भन्दा बढी यात्रु बोकेर हिडिरहेका छन् ।’ बर्षाै देखि यहाँको समस्या सडकमा छ, समाधानका लागि कसैले पहल नगरेको उनको गुनासो छ । स्थानीय तहले निर्माण गरेका सडकको अवस्था झनै नाजुक छ । सडक खन्ने होडबाजी चलाएका स्थानीय तहले न भपर्दाे सडक खने, न बजेटको सदुपयोग गरे सबैलाई कमाई खाने बाटो बनाएको उनको आरोप छ ।

साना (बोलेरो) गाडीहरुले यात्रु बोक्ने होडबाजी गर्ने गरेका छन् । गाडीको क्षमता भन्दा तेब्बर यात्रु कसरी बोक्ने भनेर गाडीवालाहरु वीच प्रतिस्पर्धा नै हुने गरेको उनको भनाई छ । जुनीचाँदेका सडकमा निश्चित गाडीहरु चल्ने भएकोले गाडीवाला ले चढ्न नदिने भन्दै केही स्थानीयले नाम समेत भन्न चाहेनन् । गाडीहरुले भाडा समेत फिक्स लिने गरेको पाईदैन् । फरक फरक भाडादर गरिरहेका छन् । जुनीचाँदे गाउँपालिकाको केन्द्र सम्म खलंगा बाट तीन हजार बढी रुपैयाँ तिर्न यात्रुहरु बाध्य छन् ।

पटकपटक यही सडकमा दुर्घटना हुदाँ धेरै मानवीय क्षति भईरहेको छ, अझै गाडीहरुले क्षमता भन्दा बढी यात्रु बोक्न नछोडेको छेगागाड नगरपालिकाका स्थानीय वीरबहादुर बस्नेतले बताए । उनले भने, ‘गाडीमा कोचाकोच यात्रु बोकेपनि, सरकारी पक्षको ध्यान पुग्न सकेको छैन्, नत्र प्रहरी पुग्छ न स्थानीय सरकारको नजर ।’ सडकको अवस्था राम्रो नहुँदा नहुदै पनि ड्राईभरले मनपरी ढंगले यात्रुहरु बोकिरहेको उनको भनाई छ ।

सदरमुकामै छैन्  ट्राफिक  नियम  कार्यान्वयन
खलंगा बजार भित्रै ट्राफिक नियम कार्यान्वयन भएको पाईदैन् । बजारको छेउमा लेखिएको छ हर्न निषेधित क्षेत्र । त्यही बज्छ गाडी÷बसको ठूलो हर्न । चोकचोकमा ट्राफिक नियम लेखिएको छ तर कार्यान्वयन भएको पाईदैन् । जथाभावी पार्किङ्गले समेत समस्या पारिरहेको छ । खलंगा मै व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र खलंगा मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आएपनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।

सरकारी निकायको उदासीनता र सरोकारवाला निकायको लापरवाहीका कारण अव्यवस्थित हुँदै गएको स्थानीयको भनाइ छ । सदरमुकाम खलंगामा पार्किङ व्यवस्थित गर्न कोही पनि गम्भीर नदेखिएको बताउँछन् । उनीहरु भन्छन्, “जटिल समस्याको रूपमा रहेको अव्यवस्थित पार्किङ कसले र कहिले समाधान गरिदिने होला, हामी प्रतीक्षामा छौँ, आधारभूत पूर्वाधारको रूपमा रहेको व्यवस्थित पार्किङ निर्माण हुन नसक्दा यहाँ बस्ने सर्वसाधारणको दैनिकी बेहाल बनेको छ ।”

नयाँ घर बनाउनेहरुको सडकमा जथाभावी सरिया, सिमेन्ट र पाइपहरु फालेर निकै समस्या हुने गरेको छ । कतिपय ठाउँमा सडक मिचेरै संरचना समेत निर्माण गरिएको छ । यसले गर्दा आवातजावतमा सर्वसाधारणलाई समस्या भएको छ । सरोकावारवाला निकायहरुले चासो नदिदा गैरीखाली, थाप्ले, नयाँ बस्ती, शान्तिचौतारा सहितको सडकका छेउछाउमा जथाभावी फालिएका निर्माण सामाग्रीले सवारी साधनलाई आवतजावतमा समस्या हुने गरेको स्थानीयको भनाई छ । नगरपालिका र स्थानीय प्रशासनले यसको व्यवस्थापनका लागि कुनै चासो लिएको देखिदैन् ।

नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई कार्वाही छौं : गरुङ्ग
जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रमुख अम्बर गुरुङले नियम उल्लंघन गर्ने सवारी साधनलाई कार्वाही गर्ने बताएका छन् । खलंगा क्षेत्रमा जथाभावी हर्न बजाउने सवारी साधनलाई केही दिनमै कार्वाही गरिने बताए । ‘हामीले उहाँहरुलाई वेलावेला सम्झाउँदै आएका छौं,उनले भने, ‘अव पनि मान्नुभएन भने कार्वाही गर्छाै, बजार क्षेत्रमा सानो मिनी हर्न बजाउनुहोस भनेकै छौं ।’ ट्राफिक नियम उल्लंघन गरी गति बढाउने, हर्न बजाउने, सिट क्षमता भन्दा बढी यात्रु बोक्न सवारी साधन माथि कडाई गरिने र चेकजाँचको अवस्थालाई कडाई गर्ने प्रमुख गुरुङले बताए ।

पश्चिम जाजरकोटमा क्षमता भन्दा बढी यात्रु बोक्ने गुनासो आएको छ, छेडामा भएको प्रहरी यूनिट र ट्राफिक प्रहरीलाई जानकारी गराएको र त्यसरी यात्रु बोक्ने गाडीमा निगरानी बढाउन निर्देशन दिईएको उनको भनाई छ । बजार क्षेत्रमा हर्न बजाए मात्रै यहाँका नागरिकले बाटो छोड्ने हुदाँ अलि समस्या भएको बताए ।

२५ चैत्र २०८०, आईतवार ०८:०६ मा प्रकाशित
Nabintech