१५ बैशाख २०८१, शनिबार

रिम्नामा बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिका १ रिम्नाको भेरी त्रिवेणी माद्यामिक विद्यालयमा बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार रिम्नाको विद्यालयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । युरोपियन युनियन,हेल्भटास नेपाल र महिला सशक्तिकरण मञ्च नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा भेरी नगरपालिका र भेरी त्रिवेणी मावि रिम्नाको समन्वय र सहिद स्मृति युवा क्लवको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

“बालमैत्री शासन,बालअधिकारको सम्मान” भन्ने नाराका साथ बालबालिकाको अन्तरनिहित क्षमताको विकास होस भनि यस्तो प्रतियोगिता सन्चालन गरेको सहिद स्मृति युवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताए । सहिद स्मृति युवा क्लवको सक्रियतामा भेरी त्रिवेणी माविमा सुशासन,पैरवी,रुपान्तरण,स्थानीय शासन,चेतना र प्रवद्र्धन गरी ६ वटा विषयगत बाल क्लव गठन गरिएका छन् । तीनै बाल क्लवका क्षमता विकासका लागि बाल क्लव स्तरीय प्रतियोगिता गरिन्छन् । त्यसै अनुरुप हाजिरीजवाफ प्रतियोगिता गरिएको अध्यक्ष विश्वकर्माले बताए ।

उक्त प्रतियोगितामा ६ वटा बाल क्लवका ९ टिमले सहभागि जनाएका थिए । त्यस मध्य चेतना बाल क्लवका समूह ‘बि’ धर्मरान रानाको टिम प्रथम,सुशसान बाल क्लवको रिमा रानाको टिम द्धितिय र पैरवी बाल क्लवको बिमला रानाको टिम तृतिय भएको विद्यालयका शिक्षक (अतिरिक्त क्रियाकलाप समिति सह संयोजक) ललित शाहीले जानकारी दिए । सहिद स्मृति युवा क्लवले बालबालिको क्षेत्रमा विद्यालय स्तरमा प्रभावकारी काम गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक प्रेम पुनले बताएका छन् । कार्यक्रममा मन्तव्य राख्दै बालबालिकालाई लक्षित गरि गरिने यस्ता क्रियाकलापले बालबालिकाको क्षमता विकास हुने र नेतृत्व विकासमा टेवा पुग्ने प्रधानाध्यापक पुनले बताए । यस्ता कार्यक्रमलाई निरन्तरता दिन क्लवलाई अनुरोध समेत गरेका छन् ।

१८ फाल्गुन २०८०, शुक्रबार २१:५० मा प्रकाशित
Nabintech