१२ श्रावण २०८१, शनिबार

भूकम्पबाट जाजरकाेटमा दश करोड रुपैयाँ बराबरको पशुपक्षीमा क्षति

कर्णाली अपडेट

जाजरकाेट । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट दश करोड रुपैयाँ बराबरको पशुपक्षी क्षति भएको जनाएको छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । एक हजार पाँच सय ५३ गोठ भत्कँदा किसानको पाँच करोड ५० लाख क्षति भएको तथ्याङ्क छ ।

त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुरलगायतका पाँच सय १३ पशु चौपायाको क्षति दुई करोड ५० लाख बराबर छ । त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ माहुरीको घार नष्ट हुँदा एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ । त्यसैगरी, ८८ मेट्रिक टन खाद्य नष्ट हुँदा ३८ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ ।

घर भत्किएपछि एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ । भारतबाट कमाएर ल्याउने जनशक्ति भूकम्पकै कारण रोकिएपछि आयआर्जनमा समेत असर पुगेको छ । त्यस्तै, उत्पादन र उत्पादकत्व घट्ने, भूकम्पका कारण गोरुमा क्षति पुग्दा खेतबारी जोत्ने समस्या हुने र तत्काल पशुमा लगानी गर्ने किसानमा क्षमता नभएकाले उत्पादनमा ह्रास आउने देखिएको छ ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रको सहकार्यमा सुर्खेतको विरेन्द्रनगरमा भएको ‘विपद्पश्चात हरित पुनःस्थापना’ विषयक छलफलमा कृषि मन्त्रालयका प्रवक्ता कठायतले यो तथ्याङ्क प्रस्तुत गरेका थिए ।

तथ्याङ्क प्रस्तुत गर्दै प्रवक्ता कठायतले प्रदेश सरकारसहित सम्बन्धित निकायले खेतीपातीको लागि गोरु वा यान्त्रीकरण, खाद्य तथा तरकारी उत्पादनका लागि बीउको व्यवस्था गर्नुपर्ने, दिगोरुपमा गोठ र खोरको स्थापना, अस्थायी घरमा त्रिपालको व्यवस्था र खेतीपातीलाई पुनरुत्थान गर्नुपर्ने कार्यक्रममा जोड दिनुपर्ने बताए ।

भूकम्प प्रभावित जिल्लाका पालिकालाई साविकको अवस्थामा लैजान पशुपक्षी तथा खोर व्यवस्थापनमा झण्डै दश करोड, सडक, खानेपानी, सिँचाइलगायत एक सय ५० योजनाका लागि चार करोड ५० लाख र माहुरी उत्पादन कार्यक्रममा एक करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको पनि प्रवक्ता कठायतले जानकारी दिए ।

गएको कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

४ पुष २०८०, बुधबार १०:५१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्