जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा एकै दिन तीन जना गर्भवतीको शल्यक्रियामार्फत सफल प्रसूति गरिएको छ।
बुधबार विभिन्न जटिलता भएका तीन जना गर्भवतीको सिजेरियन (Cesarean Section) शल्यक्रियामार्फत प्रसूति सेवा प्रदान गरिएको हो। भेरी नगरपालिका र रुकुम पश्चिमबाट आएका १८ देखि २० वर्ष उमेर समूहका गर्भवतीको शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
शल्यक्रिया गरिएका तीनमध्ये दुई जनामा गर्भावस्थाको अवधि पूरा भएपछि प्रसूति गराइएको थियो भने दुई जनामा शिशुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको थियो। तीनै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन्।
शल्यक्रिया सफल बनाउन एमडीजीपी डा. अनिश खड्का, एनेस्थेसिया सहायक यज्ञराज जोशी, स्क्रब नर्स पूजा ओली र गीता खड्कालगायत स्वास्थ्यकर्मी तथा कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सीमित स्रोतसाधनका बाबजुद स्वास्थ्यकर्मीहरूको आपसी समन्वय, टिमवर्क, लगनशीलता र जिम्मेवारीबोधका कारण एकै दिन तीनवटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको कार्यालयले जनाएको छ।











