जाजरकोट । गत साउन ३० गतेको बाढीपहिरोबाट प्रभावित भेरी नगरपालिका वडा नं. २ र ३ का २६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय पोशाक र न्यानो कपडा वितरण गरिएको छ।
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजनामार्फत प्रभावित क्षेत्रका विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो। वितरण गरिएका सामग्रीको कुल लागत करिब १६ लाख रुपैयाँ रहेको छ।

पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रका २६५ जना बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक र न्यानो कपडा उपलब्ध गराइएको हो। उहाँका अनुसार प्रतिविद्यार्थी करिब ४ हजार ५०० रुपैयाँ लागत बराबरका सामग्री वितरण गरिएको छ।
बाढीपहिरोका कारण प्रभावित परिवारका बालबालिकाको पढाइमा परेको असर न्यूनीकरण गर्दै शैक्षिक निरन्तरता कायम राख्न तथा चिसो
मौसमबाट सुरक्षित राख्ने उद्देश्यले सामग्री वितरण गरिएको हो।
प्राकृतिक विपद्का कारण घरपरिवार प्रभावित हुँदा बालबालिकाको शिक्षा र दैनिक जीवनमा समेत असर परेको अवस्थामा शैक्षिक सामग्री, पोशाक र न्यानो कपडाले उनीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।











