जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ छोटेबगरस्थित भेरी नदीमा डुबेर बेपत्ता भएका एक पुरुष पाँच दिनसम्म पनि फेला परेका छैनन्।
गत कात्तिक ३० गते दिउँसो करिब १ बजे भेरी नगरपालिका–३ पिपलडाँडा निवासी ४३ वर्षीय बबि शाह पिकनिक खाएर पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर बेपत्ता भएका थिए।
घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले खोजी कार्य सुरु गरेको थियो। तर, निरन्तर खोजी गर्दा पनि शाहको अवस्था पत्ता लाग्न सकेको छैन।
यसैबीच, मंसिर ५ गते सशस्त्र प्रहरी बलको टोलीले थप खोजी कार्य गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्रबहादुर चन्दको कमान्डमा १२ जनाको टोली घटनास्थल पुगेको थियो। टोलीमा पाँच जना गोताखोर र चार जना विपद् व्यवस्थापन (डीएम) तालिम प्राप्त सुरक्षाकर्मी सहभागी थिए।
टोलीले बिहान १०ः५० बजेदेखि खोजी कार्य सुरु गरी भेरी नगरपालिका–१३ कुदुसम्म नदीमा खोजी गरेको थियो। उक्त क्षेत्रमा समेत खोजी गर्दा शाह फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ।










