जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख तथा वन क्षेत्र समन्वय समितिका अध्यक्ष कालीबहादुर खत्रीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक कार्यक्रम, कार्यक्रम कार्यान्वयनको अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। साथै, वन क्षेत्रसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान, अनुदानमा आधारित कार्यक्रमको कार्यान्वयन र विभिन्न वनसम्बन्धी गतिविधिबारे समीक्षा गरिएको थियो।
जिल्ला समन्वय समितिका प्रमुख तथा वन क्षेत्र समन्वय समितिका अध्यक्ष कालीबहादुर खत्रीले वन क्षेत्र मानिसको जीविकोपार्जनसँग जोडिएको महत्वपूर्ण स्रोत भएको बताउनुभयो। पछिल्लो समय वन क्षेत्र फडानी गरेर विभिन्न संरचना निर्माण गर्ने कार्य बढ्दै गएको भन्दै उहाँले त्यसलाई रोक्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो।
बैठकले स्वीकृत कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न डिभिजन वन कार्यालय जाजरकोटलाई निर्देशन दिने निर्णय गरेको छ। त्यस्तै, जिल्लाभित्रका निजी उद्यमी, सामुदायिक वन, कबुलियती वन, निजी फर्म तथा समूह सहकारीसँग प्रस्ताव आह्वान गरी वनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको डिभिजनल वन अधिकृत दिपेश केसीले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, उद्योग वाणिज्य संघ तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।












