जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१२ की २३ वर्षीया सुत्केरी महिला र नवजात शिशुको जटिल प्रसूति समस्याका कारण हवाई उद्धार गरिएको छ।
मंसिर १० गते सुत्केरी महिला र शिशुमा जटिल प्रसूति समस्या देखिएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो।
उनीहरूलाई नेपाली सेनाको हवाई साधनमार्फत थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलामा जटिल स्वास्थ्य समस्या देखिँदा समयमै उपचारको पहुँच पुर्याउने उद्देश्यले सञ्चालन गरिएको हवाई उद्धार कार्यक्रमले जोखिममा परेका आमा र नवजात शिशुको जीवन बचाउन सहयोग गर्दै आएको छ।
यस कार्यक्रमले भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा पहुँचमा कठिनाइ भोगिरहेका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा राहत पुर्याउँदै आएको छ।












