रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारको ८ करोड ९७ लाख ९० हजार रुपैयाँभन्दा बढीको लागतमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्य सुरु भएको छ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मिलन खड्का (रोका) ले शुक्रबार एक कार्यक्रमबीच सडक स्तरोन्नति तथा निर्माण कार्यको औपचारिक शुभारम्भ गर्नुभएको हो।
चौरजहारी नगरपालिका–२ विजयश्वरीदेखि वडा नम्बर ७ को मेलैनाउली, नार्जी हुँदै शान्तिबजार जोड्ने सडकखण्डमा करिब ६ किलोमिटर सडक कालोपत्रे तथा आरसीसी निर्माण गरिने भएको छ। आठ मिटर चौडाइ रहने सडकमा दुवैतर्फ एक–एक मिटर नाली निर्माण गरी बीचको ६ मिटर भागमा कालोपत्रे तथा आरसीसी गरिने पूर्वाधार कार्यालयले जनाएको छ।
उक्त सडक निर्माणका लागि पूर्वाधार कार्यालयले १२ करोड २९ लाख रुपैयाँ लागत अनुमानसहित टेन्डर आह्वान गरेको थियो। टेन्डर प्रक्रियाबाट एमपी कन्स्ट्रक्सनले ८ करोड ९७ लाख ९० हजार २ सय ९१ रुपैयाँमा निर्माणको जिम्मा पाएको हो। सम्झौताअनुसार सडक निर्माण कार्य २०८५ भदौ ५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।
निर्माण कार्यको शुभारम्भ गर्दै मन्त्री खड्काले चौरजहारीवासीले लामो समयदेखि सडक स्तरोन्नतिको माग गर्दै आएको बताउनुभयो। आफू भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भएपछि पनि स्थानीयवासीले सडक निर्माणका विषयमा पटक–पटक चासो र चिन्ता व्यक्त गर्दै आएको उहाँले उल्लेख गर्नुभयो।
मन्त्री खड्काले निर्माण व्यवसायीलाई निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिँदै विकास आयोजनाहरू सम्झौताअनुसार समयमै पूरा हुनुपर्नेमा जोड दिनुभयो। कर्णाली प्रदेशमा सम्झौता भएर कार्यान्वयन प्रक्रियामा गएका कतिपय आयोजना समयमै सम्पन्न नहुने तथा अलपत्र पर्ने समस्या रहेको उल्लेख गर्दै उहाँले निर्माण सामग्रीको सहज उपलब्धताका लागि स्थानीय तहले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो।











