१२ श्रावण २०८१, शनिबार

शर्मिलाले फिर्ता लिइन् कँडेलविरुद्धको दुर्व्यवहारसम्बन्धी मुद्दा

कर्णाली अपडेट

काठमाडौं । दोहोरी कलाकार शर्मिला श्रेष्ठले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध दिएको मुद्दा फिर्ता लिएकी छन् । कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले गत १४ फागुनमा कँडेल विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।

शर्मिलाले कँडेलसँग कुनै सहमति नगरी हिजो एकतर्फीरुपमा मुद्दा फिर्ता लिएकी हुन् । निकट स्रोतका अनुसार सामाजिक सञ्जालमा भएको चर्को ट्रोलले उनी निकै हतोत्साही बनेकी थिइन् । ट्रोल सहन नसकेर नै उनले मुद्दा फिर्ताको एकल निर्णय लिएको स्रोतको दाबी छ ।

कँडेलले आफूलाई गलत नियतका म्यासेजहरू गरेको तथा कोठामा जान खोजेको आरोप शर्मिलाले लगाएकी थिइन् । एउटा पत्रकार सम्मेलनमा उनी धरधरी रुँदै कँडेलले गरेका म्यासेजहरू पढेर सुनाएकी थिइन् । त्यस क्रममा ‘कुरा गरौँ न म रुम मिलाउँछु नि’ भनेर कँडेलले पठाएको म्यासेज वाचन गर्दै उनले प्रश्न गरेकी थिइन्, ‘कुरा गर्न पनि रुम मिलाउनु पर्छ त ?’ उनको यो संवादलाई मनोरञ्जनका रूपमा लिँदै हजारौँले टिकटक र रिलमा भिडियोहरू बनाएका छन् । यो क्रम अहिले पनि जारी छ ।

यता कँडेलले पनि इन्द्रेणीबाट निकालिएका शर्मिलासहित पाँच कलाकारहरूले आफ्नो चरित्रहत्या गरेको भन्दै अदालतमा मानहानिको मुद्दा हालेका थिए । शर्मिला बाहेकका चार कलाकारहरूसँग यसअघि नै उनले समझदारी गरिसकेका छन् ।

शर्मिला भने एक्लिएकी थिइन् । शर्मिलाले मुद्दा फिर्ता लिएको थाहा पाएपछि कँडेलले पनि मानहानिको मुद्दा फिर्ता लिएका छन् ।

२३ फाल्गुन २०८०, बुधबार १८:५३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्