११ जेष्ठ २०८२, शनिबार

भूकम्प प्रभावित छात्रालाई श्री ज्योति फाउन्डेसनको छात्रवृत्ति प्रदान

कर्णाली अपडेट

जाजरकोट। भूकम्प प्रभावित जिल्लाका १६ जना छात्राहरूलाई श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ ।

जाजरकोट, रुकुम पश्चिम र सल्यानका कक्षा एकदेखि १० सम्म अध्ययनरत छात्राहरूलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को सहकार्यमा छात्रवृत्ति वितरण गरिएको हो । फाउन्डेसनले अघिल्लो शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्राहरूलाई छात्रवृत्ति वितरण गरिरहेको छ । फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरूलाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने बताइन् । ‘कक्षा १ देखि १० सम्मका १६ जना छात्राहरूलाई अघिल्लो शैक्षिक सत्रदेखि छात्रवृत्ति वितरण गरिरहेका छौँ,’ उनले भनिन्, ‘छात्रवृत्ति वितरण कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौँ ।’

फाउन्डेसनले छात्राहरूलाई बर्सभरिलाई पुग्ने स्टेशनरी, स्कुल पोसाक, झोलालगायतका सामाग्रीहरू वितरण गर्दै आइरहेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई दुई जना छात्राहरूलाई फाउन्डेसनले छात्रवृत्ति दिँदै आएको छ । अध्यक्ष कटुवालले सांगीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट छात्रवृत्ति दिन थालिएको बताइन् । उनले कर्णालीका १० वटै जिल्लाहरूमा छात्रवृत्ति कार्यक्रम पुर्‍याइने बताइन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिका वडा नं. १ का अध्यक्ष दीपक रानाले छोरी सशक्तीकरणका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले जोखिममा परेका बालबालिकाहरूलाई फाउन्डेसनले गरेको सहयोग महत्त्वपूर्ण भएको बताए । छोरीहरूलाई पढ्नका लागि प्रेरणा प्रदान गर्न यो कार्यक्रम महत्त्वपूर्ण छ,’ उनले भने, ‘छात्रवृत्ति पाएका छात्राहरूले पढाइमा पनि राम्रो गरेको पाइएको छ ।’ सानीभेरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष टेकबहादुर पुनले भूकम्प प्रभावित क्षेत्रमा शिक्षामा लगानी आवश्यक रहेको बताए । उनले भूकम्पका कारण घरबार गुमाएका परिवारका छोरीहरूलाई पूर्ण छात्रवृत्ति दिएर पढ्ने वातावरण दिनु नै ठुलो कुरा भएको बताए ।

भेरी त्रिवेणी माविका प्रधानाध्यापक प्रेम पुनले भूकम्पका कारण पीडित बनेका परिवारका बालिकाहरूलाई छात्रवृत्ति कार्यक्रमले ठुलो सहयोग पुर्‍याएको बताए । ‘भूकम्पका कारण कापी किताब किन्न नसक्ने अवस्थामा रहेका पीडित बालिकाहरूलाई छात्रवृत्ति दिएर फाउन्डेसनले ठुलो सहयोग पुर्‍याएको छ,’ उनले भने, ‘यो कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनुहोला ।’ छात्रवृत्तिमा अध्ययन गरिरहेकी जाजरकोटको नलगाड नगरपालिकाकी छात्रा गंगा विकले छात्रवृत्तिका कारण आफूले पढ्ने वातावरण पाएको बताइन् । ‘भूकम्पका कारण शरीरमा लगाउने कपडा पनि थिइन्, यस्तोमा पढ्ने सपना त्यति सकेकी थिएँ’ उनले भनिन्, ‘फाउन्डेसनको सहयोग पनि पढ्नमा कुनै समस्या छैन, राम्रो अङ्क ल्याएर उत्तीर्ण भएँ ।’

११ जेष्ठ २०८२, शनिबार १६:२२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्