६ माघ २०८२, सोमबार

छेडागाड नगरपालिकाका १२ सामुदायिक वनमा ‘माई फरेष्ट चाइल्ड’ परियोजनाद्वारा ३० हेक्टरमा वृक्षारोपण 

जलवायु परिवर्तन नियन्त्रणमा टेवा पुग्ने

सरोज वली

जाजरकोट । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्माणका कार्यले नाङ्गिँदै गएका छेडागाडका सामुदायिक वन पछिल्लो समय हरियाली देखिन थालेका छन् ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा स्थानीय पाँचतारा युवा संरक्षक मञ्च अन्तरगत संचालित ‘माई फरेष्ट चाइल्ड’ परियोजनाले छेडागाडका १२ वटा सामुदायिक वनमा वृक्षारोपण गरेपछि हरियाली देखिन थालेका हुन् ।
सामुदायिक सहभागितामार्फत सञ्चालन गरिएको यस अभियान अन्तर्गत नगरपालिकाका १२ वटा सामुदायिक वनको ३० हेक्टर क्षेत्रफलमा रिट्ठो, अमला, सिसौ, बाँस, अम्लिसो, टुनी जातका ४८ हजार बढि बिरुवा रोपिएको छ।
परियोजनाले जिल्लाको छेडागाड नगरपालिका १, ४, र १२ नं. वडाका विभिन्न १२ सामुदायिक वनमा आफ्नो कार्यक्षेत्र बनाई दिगो वन विकास र व्यवस्थापनका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । ती सामुदायिक वनहरूमा बोट बिरुवाहरू मासिँदै गएको ३० हेक्टर बढी क्षेत्रमा करिब ४८ हजार बिरुवा रोपिसकिएको परियोजनाका कार्यक्रम संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो ।
बन ‘फडानी, आगलागी अतिक्रमण र जथाभाबी रूपमा गरिएको विकास निर्माणका कार्यले वन मासिँदै गएपछि सो क्षेत्रमा स्थानीय वन समूह मार्फत वृक्षारोपण गरिएको संयोजक पाण्डेले बताउनुभयो ।
वन तथा वातावरण संरक्षणका लागि ‘माई फरेष्ट चाइल्ड’ परियोजना पाइलट प्रोजेक्टको रूपमा रहेको भन्दै यो अभियान स्थानीय समुदायमा हस्तान्तरण गरिने उहाँले बताउनु भयो।

छेडागाड न.पा १ स्वडारी अवस्थित कोटिला सामुदायिक बनमा गरेको वृक्षारोपन कार्यको अवलोकन  गर्दै ।

परियोजनाले वृक्षारोपण गरी वन हरियाली बनाउने मात्रै नभई यसमा समुदायलाई जोडेर उनीहरूको जीवनशैली परिवर्तन गर्ने परियोजनाको उद्देश्य रहेको छ । ‘यो काम केवल वृक्षारोपणमा सीमित छैन, परियोजनाले वन सम्बन्धीका सबै अभिलेख व्यवस्थापन, युवाको भूमिका, विद्यालय सुधार र सामुदायिक निगरानीसम्मका क्रियाकलापलाई समेत परियोजनाले जोड्ने छ ।
कार्यक्रमलाई थप प्रभावकारिता बढाउन स्थानीय सरकार, सब-डिभिजन वन कार्यालय सँग समन्वय गरिरहेको छ । परियोजनाले सामुदायिक विद्यालयमा पनि कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले गर्दा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय तहबिच सहकार्य बढेको छ, चन्द्र ज्योति माध्यमिक विद्यालयका प्राचार्य शर्मा बहादुर खत्रीले बताउनु भयो । सोहि विद्यालयकी छात्रा प्रतीक्षा थापाले परियोजनाले सञ्चालन गरेको कार्यक्रमले बालबालिकाले वातावरण संरक्षणमा देखाएको चासो र सक्रियता नै भविष्यका लागि प्रेरणादायी भएको बताउनु भयो ।
‘माई फरेष्ट चाइल्ड’  परियोजनाले सञ्चालन गरेको यो वृक्षारोपण अभियानले वन क्षेत्र संरक्षण, माटो कटान नियन्त्रण, जैविक विविधता विस्तार तथा स्थानीय समुदायमा वातावरणीय सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ।
स्थानीय सरकार, सामुदायिक वन, विद्यालय, बाल क्लब तथा परियोजनाबिचको साझेदारीका कारण छेडागाड नगरपालिका हरियाली अभियानमा उदाहरणीय नमुना बन्दै
गएको छ।

२४ मंसिर २०८२, मंगलवार १४:०९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्