जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा सञ्चालित सामाजिक–आर्थिक जोखिम सूचना व्यवस्थापन प्रणाली (SEVIMS) परियोजना अन्तिम चरणमा पुगेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान (HRDC) को सहकार्यमा सञ्चालन गरिएको यो परियोजना जिल्लामै पहिलोपटक कार्यान्वयनमा आएको हो।
परियोजनाको उद्देश्य गाउँपालिकाभित्रका सबै घरपरिवारको सामाजिक तथा आर्थिक अवस्थाको विस्तृत विवरण संकलन गरी पालिकाको योजना निर्माण, सेवा प्रवाह र नीति निर्माण प्रक्रियालाई तथ्यमा आधारित र प्रभावकारी बनाउनु हो।
यस परियोजनाअन्तर्गत गाउँपालिकाले ९ जना गणकलाई तालिम दिएर घरदैलो तथ्यांक संकलनमा खटाएको थियो। हालसम्म ३ हजार ४ सय घरधुरीको तथ्यांक संकलन कार्य सम्पन्न भइसकेको छ। संकलित तथ्यांक विशेष सफ्टवेयरमा डिजिटल अभिलेखका रूपमा सुरक्षित गरिएको छ, जसको आधारमा पालिकाले प्रत्येक घरलाई क्युआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू गर्ने तयारी गरेको छ।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीका अनुसार, “SEVIMS परियोजनाले पालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेछ। हरेक घरधुरीको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुने भएकाले लक्षित वर्ग पहिचान गरी उनीहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ।”
परियोजनाबाट गाउँपालिका भित्रका घरधुरीको अवस्थासहित स्थान पहिचान गर्न सजिलो हुने विश्वास गरिएको छ। विशेषगरी सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका वर्ग र समुदायको पहिचान गरी उनीहरूका लागि अनुकूल योजना निर्माण गर्न यो प्रणाली सहायक हुने बताइएको छ।
परियोजनाको सफल कार्यान्वयनले दीर्घकालीन रूपमा नीति निर्माण, सेवा प्रवाह, बजेट विनियोजन र दिगो विकास लक्ष्य (SDG) को स्थानीयकरणमा उल्लेखनीय टेवा पुर्याउने अपेक्षा गरिएको छ।