१२ पुष २०८२, शनिबार

जाजरकोटमा उद्धार गरिएको रेडपाण्डाको मृत्यु

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १२ क्षेत्रमा उद्धार गरिएको संरक्षित वन्यजन्तु रेडपाण्डाको उपचारका क्रममा मृत्यु भएको छ। सब–डिभिजन वन कार्यालय जाजरकोटले सार्वजनिक गरेको घटनास्थल मुचुल्का अनुसार रेडपाण्डा गम्भीर अवस्थामै फेला परेको थियो।

गत पौष १ गते दिउँसो करिब ३ बजे स्थानीय बासिन्दाले रेडपाण्डा फेला पारि प्रहरी चौकी रग्दालाई जानकारी दिएका थिए। जानकारी पश्चात् प्रहरी चौकी प्रमुख मोहन चन्दको कमाण्डमा गएको टोलीले उक्त रेडपाण्डाको उद्धार गरेको थियो।

उद्धारपछि रेडपाण्डालाई सब–डिभिजन वन कार्यालय दल्लीका वन रक्षक चक्र बहादुर सिंहले गत पौष २ गते जिल्ला वन कार्यालय जाजरकोटमा बुझाएका थिए। त्यसपछि वन अधिकृत सन्तोष श्रेष्ठ सहितको टोलीले रेडपाण्डालाई नलगाड नगरपालिका–१२ स्थित प्राकृतिक वासस्थानमा छोड्ने प्रयास गरेको थियो।

वासस्थानमा छोडिएको दुई घण्टासम्म पनि रेडपाण्डा आफैं वासस्थानतर्फ नफर्किएपछि थप उपचारका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय ल्याउदै गर्दा बाटोमै उक्त रेडपाण्डाको मृत्यु भएको डिभिजन वन कार्यालय जाजरकोटका कार्यालय प्रमुख दिपेश केसीले जानकारी दिनुभयो।

मृत्यु पश्चात रेडपाण्डाको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटमा पोष्टमार्टम गरिएको थियो। कार्यालयको रिपोर्ट अनुसार रेडपाण्डा मृत्युको कारण दीर्घकालीन भोकमरीका कारण भएको जानकारी दिएको छ ।

पोष्टमार्टमका क्रममा रेडपाण्डाको छाला चितवन राष्ट्रिय निकुञ्जमा पठाउनका लागि सुरक्षित राखिएको र अन्य शारीरिक अंगहरू जनप्रतिनिधी, पत्रकार र डिभिजन वन कार्यालय जाजरकोटको रोहवरमा खाडल खनी गाडिएको कार्यालयले जनाएको छ।

संरक्षित वन्यजन्तु रेडपाण्डाको यसरी मृत्यु हुनु दुःखद् भएको भन्दै संरक्षणकर्मीहरूले यसको वासस्थान संरक्षण र नियमित अनुगमन आवश्यक रहेको बताएका छन्।

४ पुष २०८२, शुक्रबार ११:०२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्