जाजरकोट । जिल्ला वन क्षेत्र समन्वय समितिको पहिलो बैठक जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ का स्वीकृत वार्षिक कार्यक्रम तथा हालसम्मको प्रगति अवस्थाबारे डिभिजन वन कार्यालय जाजरकोटका डिभिजनल वन अधिकृत दिपेश के.सी.ले प्रस्तुतीकरण गर्दै जानकारी गराउनुभएको थियो।
बैठकले कार्यालयबाट सञ्चालन हुने सम्पूर्ण कार्यक्रमहरू स्वीकृत कार्यविधि अनुसार समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न डिभिजन वन कार्यालय जाजरकोटलाई निर्देशन दिएको छ।
यस्तै, पकेट क्षेत्रमा सञ्चालन हुने जडीबुटी संरक्षण कार्यक्रम अन्तर्गत जडीबुटी संरक्षण तथा दिगो विकासका लागि उपयुक्त प्रजाति छनोट गरी सम्बन्धित पकेट क्षेत्रका सरोकारवालाहरूसँग प्रस्ताव आह्वान गर्ने निर्णय गरिएको छ। साथै, अन्य अनुदानमा आधारित कार्यक्रमहरू कार्यविधि अनुसार निजी उद्यमी, सामुदायिक वन, कबुलियती वन, निजी फर्म, समूह तथा सहकारीमार्फत प्रस्ताव आह्वान गरी कार्यान्वयन प्रक्रिया फोकल टिम बैठकबाट निर्धारण गर्ने निर्णय गरिएको छ।
बैठकले शिवालय गाउँपालिका–९ स्थित छेडा क्षेत्रलाई जिल्लाबाट निकासी हुने वन पैदावारको एकमात्र मार्गको रूपमा रहेको उल्लेख गर्दै उक्त स्थानमा वन चेकपोष्ट स्थापना अति आवश्यक रहेको ठहर गर्दै यसले अवैध वन पैदावार चोरी निकासी नियन्त्रण गर्न तथा वैध निकासीको प्रभावकारी अनुगमन गर्न सहयोग पुग्ने निष्कर्षसहित वन चेक पोष्ट स्थापना गर्न प्रदेश वन निर्देशनालयमार्फत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर सुर्खेतमा सिफारिस गर्ने निर्णय गरिएको छ।
बैठकमा भेरी नगरपालिकाकी उप- प्रमुख सिता जैशी, शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाही, छेडागाड नगरपालिकाका उप-प्रमुख, चन्द्र बहादुर थापा, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र बहादुर शाही, बृहत जलाधार व्यवस्थापन केन्द्र जाजरकोटका कार्यालय प्रमुख शुशिल पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ जाजरकोटका अध्यक्ष प्रेम बहादुर कार्की, जडीबुटी व्यवसायी संघका प्रतिनिधि, उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश के.सी., सब–डिभिजन प्रमुखलगायत ३५ जनाभन्दा बढी सरोकारवालाहरूको सहभागिता रहेको थियो।















