१२ श्रावण २०८१, शनिबार

जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो, मेरो स्वार्थ हैन : पर्यटनमन्त्री

नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनले जानकारी गराए ।

कर्णाली अपडेट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए ।

दुर्गम क्षेत्रमा विमानस्थलहरु बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको उनले बताए । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाइ छ ।

नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि उनले जानकारी गराए । कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै उनले आफूले नेपालको प्रचलित कानुनअनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

“जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो,” उनले भने, “आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ । र, नेपालको प्रचलित कानुनअनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु ।”

देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्नेभन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने उनले बताए ।

२८ असार २०८०, बिहीबार १५:३२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्