१२ श्रावण २०८१, शनिबार

जेलमा चिनेको साथीसँग मिलेर अपहरण, फिरौती लिएको दुई महिनापछि पक्राउ

कर्णाली अपडेट

सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतीय गिरोहसँग मिलेर चिनजानकै साथीको अपहरण गरेको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेतलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार बस्नेतले भारतीय नागरिक इम्तियाजसहितको गिरोहसँग मिलेर बराहक्षेत्र नगरपालिका-५ का १९ वर्षका सौगात भण्डारी र २२ वर्षका छविलाल आचार्यको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

प्रहरीका अनुसार सौगात भण्डारी, छविलाल आचार्य, हरि आचार्य र सुनिल गरी २५ वैशाखको दिउँसो भारतको बेला बजारमा किनमेल गर्न गएका थिए । त्यहाँबाट फर्किँदा सौगात र छविलाल चढेको मोटरसाइकल नियन्त्रणमा लिँदै इम्तियाजसहित सात जनाको समूहले उनीहरुको अपहरण गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका सन्तोष बस्नेत र अपहरणमा परेका दुई युवाबीच सामान्य चिनजान थियो ।

अपहरणकारीले बन्धक बनाएर राखेको भोलिपल्ट वैशाख २६ गते सौगातका बाबुलाई फोन गरेर ५० लाख रुपैयाँ फिरौती मागेका थिए । धम्कीसहितको फोन आएपछि सौगातका बाबुले फिरौतीवापत वैशाख २६ गते सन्तोष बस्नेतलाई १ लाख ५० हजार रूपैयाँ बुझाएका थिए । प्रहरीले सन्तोषको घरबाट सो रकम पनि बरामद गरेको डीएसपी राईले बताए ।

अपहरणमा परेका सौगात र छविलाल भने वैशाख २७ गते अपहरणकारीको कब्जाबाट फुत्किएर नेपाल आएका थिए । प्रहरीका अनुसार अपहरणकारीले दुवै जनालाई भारतको बेला बजारको भित्री एरियामा स्थान परिवर्तन गर्दै बन्धक बनाएर राखेको थियो । उनीहरुले आफूहरु शौचालयको झ्यालबाट भागेर नेपाल आएको बताएका छन् ।

घटनाको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले असार २५ गते बस्नेतलाई सुनसरीको बराहक्षेत्र–१ स्थित झण्डा चोकबाट पक्राउ गरेको हो । बस्नेत अपहरणको योजना बनाउने, फिरौती रकम माग्ने तथा रकम बुझ्ने कार्यमा संलग्न भएको प्रहरीको दाबी छ । डीएसपी राईका अनुसार बस्नेत र बन्धक बनाउने अपराधिक पृष्ठभूमिका भारतीय नागरिक इम्तियाज लागूऔषध कारोबारी पनि हुन् । इम्तियाज सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ ।

बस्नेत लागूऔषध मुद्दामा भारतको सुपौल जिल्ला काराबारमा १० महिना बसेर छुटेको पाइएको डीएसपी राईले बताए । सन्तोषको भेट भारतीय नागरिक इम्तियाजसँग जेलमै भएको थियो । ‘यी दुई जना जेलमा सँगै हुँदा चिनजान भएको देखिन्छ’ उनले भने ।

बस्नेतको घरबाट प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा फेन्सिडलगायतका लागूऔषध पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

२७ असार २०८०, बुधबार १७:०७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्