७ जेष्ठ २०८१, सोमबार

बालिका बलात्कृत भएको घटना ६ महिनापछि सार्वजनिक, तीन जना पक्राउ

सराेज थापा

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपलिकामा एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बलात्कारमा संलग्न रहेको आरोपमा ९ मध्ये तीन जना पक्राउ परेका हुन् भने अन्य फरार छन् ।

पक्राउ पर्नेहरुमा जगदुल्ला गाउँपालिका वडा नम्बर-५, माझगाउका २९ वर्षीय धर्मराज बोहोरा, सल्यान कुमाख गाउँपालिका-५ कालागाउँका अन्दाजी २० देखि २५ वर्षका रेशम राना र जाजरकोट कुशे गाउँपालिका वडा नम्बर-९ का २१ वर्षीय कृष्ण विक छन् । उनीहरूलाई शनिबार बेलुकी जिल्ला प्रहरी कार्यालय डोल्पाले सार्वजनिक गरेको हो ।

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं. ६ की १५ वर्षीया बालिकालाई बलात्कार गरेको ६ महिनापछि घटना बाहिरिएको हो । सोही गाउँस्थित भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिकालाई २०७९ माघ/फागुन महिनातिर ललाइफकाइ बलात्कार गरेको पीडितका आफन्तको आरोप छ । बालिकालाई विभिन्न समयमा पटक पटक बलात्कार गरेको र बालिकाको पेटमा गर्भ रहेपछि आफन्तले थाहा पाएका थिए ।

बालिकाको आफन्तले इलाका प्रहरी कार्यालय काईगाउँमा मौखिक उजुरी र जिल्ला प्रहरी कार्यालय डोल्पामा २०८० साउन २६ गते दिएको किटानी जाहेरीका आधारमा ९ जनामध्ये तीन जना पक्राउ परेका हुन् । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।

रेशम जुम्लाबाट पक्राउ परेका थिए भने कृष्णलाई जगदुल्ला गाउँपालिकाको नाउली र धर्मराजलाई जगदुल्लाबाट पक्राउ गरिएको हो । जिल्ला अदालत डोल्पाले पक्राउ परेका ३ जनालाई १५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अन्य ६ जना भने फरार छन् । उनीहरुको खोजी भइरहेको डीएसपी शिव बुढाथोकीले जानकारी दिए ।

घटना मिलाउन पटक पटक गाउँमै छलफलका लागि पीडित परिवारमाथि दबाब दिइएको र यही क्रममा पीडितका आफन्त न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

गर्भवती भएकी नाबालिकाको आमा-बुबा फरक क्षमताका भएको आफन्तले जनाएका छन् । साथै पारिवारिक अवस्था कमजोर रहेकाले बालिकालाई हेरचाह केन्द्रले संरक्षण गर्ने भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

३ भाद्र २०८०, आईतवार ०९:१३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्