१२ श्रावण २०८१, शनिबार

उज्यालो जाजरकोट बनाउन तीन अर्बको ठेक्का

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटलाई विद्युतीकरण गर्न तीन अर्बको ठेक्का आह्वन गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगायतका ठाउँमा नयाँ सबस्टेसन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का आह्वान गरिएको हो ।

भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेसन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेसन निर्माण कार्य जारी छ । बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्न समाइला सबस्टेसन निर्माण गर्न ठेक्का खोली कामको सुरुवात हुने तरखरमा छ । त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेसनबाट काम हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले चौखाको सबस्टेसन ६ महिनाभित्र पूरा हुने बताएका छन् । काम गर्ने जनशक्ति कम भएका कारण आफू समस्यामा परेको उनले बताए । कुदु सबस्टेसनबाट रुकुम पश्चिम, जाजरकोट र सल्यानमा प्रसारणलाइन लिइएको छ । ३३ केभी प्रसारणलाइन यी तीन जिल्लामा पु¥याएको हो । चौखाको सबस्टेसन निर्माणपछि मात्र ताक्सुगाड जलविद्युत आयोजनाको कामसँगै डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणमा सघाउ पुग्ने छ ।

१३२ केभी प्रसारणलाइन कोहलपुरबाट सिधै सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ । अहिले चालु अवस्थामा रहेको ३२ केभी प्रसारणलाइन १३२ केभी प्रसारणलाइन विस्थापित हुनेछ । १३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा मात्र विद्युत सेवा दिगो हुने अपेक्षा गरिएको छ । यता ४०० केभी प्रसारण लाइनका लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सबस्टेसनको कामसमेत यसै आर्थिक वर्षमा गर्ने बताएको छ । १३२ केभी प्रसारणलाइन र ४०० केभी प्रसारणलाइन मैनतडामै जडान हुने प्राधिकरणको भनाइ छ ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटकै भएकाले पनि जिल्लालाई छिटोभन्दा छिटो विद्युतीकरण गर्न दबाब परेको छ । जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्नका लागि कुनै पनि सामग्रीको अभाव नभएको कार्यालयले जनाएको छ । जिल्लाभरि झण्डै ३० प्रतिशत विद्युतीकरण भएको छ । निर्माण व्यवसायीले लिएका ठेक्काका काम समयमा नगर्दा थप विद्युतीकरणमा समस्य भएको छ । दलका नेताले लिएको ठेक्काको काम नगर्दा विद्युतीकरणमा समस्य भएको हो । जति पटक ताकेता गरे पनि काम नगरेपछि आफू हैरान भएको कार्यालय प्रमुख कलुवारले बताए ।

कांग्रेसका नेता तेजविक्रम शाह, शान्तबहादुर बस्नेतले ठेक्काको काम नगर्दा आफू समस्यमा परेको उनले बताए । बारेकोटको विद्युतीकरणमा शाह र जुनिचाँदेको विद्युतीकरणमा बस्नेतले काम नगर्दा कामको परिणाम निकाल्न नसकेको उनले बताए । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीभरि विद्युतीकरण गर्ने दाबी गरेका छन् ।

११ भाद्र २०८०, सोमबार १३:४५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्