२७ बैशाख २०८१, बिहीबार

अख्तियारकाे टाेलीमाथी जाजरकोटमा आक्रमण

कर्णाली अपडेट

जाजरकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकाेटमा आक्रमण भएको छ । भेरी नगरपालिका-५ को निर्माणाधिन वडा कार्यालय भवनको निरीक्षण गर्न त्यहाँ पुगेको टोलीमाथि आक्रमण भएको हो । आक्रमणबाट एक जना घाइते भएको प्रहरीले बताएको छ । ‘निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोस रोकाले भने, ‘आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते हुनुभएको छ ।’ उनलाई मुक्का प्रहार गरेर घाइते बनाइएको छ । उनको अहिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको डीएसपी रोकाले बताए ।

घटनामा संलग्न सोही ठाउँका चक्र बहादुर मल्ल सहित वीरेन्द्र चन्द र किरण शाहीलाई प्रहरीले पक्राउ गरिसकेको उनले बताए । भवन निर्माणमा अनियमितता भएको भन्ने विषयमा उजुरी परेपछि अख्तियारको टोली स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेको थियो । मुचुल्का लगायत आवाश्यक कागजातहरु तयार गर्ने क्रममा एक्कासी आक्रमण भएको डीएसपी रोकाको भनाई छ । उनीहरुले मापसे गरेको पनि प्रहरीले जनाएको छ । उनीहरुले सुरुमा वडा कार्यालयको कुर्सी लगायतका सामग्री तोडफोड गरेका थिए ।

२३ भाद्र २०८०, शनिबार ०८:३२ मा प्रकाशित
Nabintech