१२ श्रावण २०८१, शनिबार

जनप्रतिनिधि र कर्मचारी तालिम, गोष्ठीमा व्यस्त; भूकम्प प्रभावितले रकम पाएनन्

सराेज वली

जाजरकोट । जाजरकोटका भूकम्प प्रभावित नागरिकलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम वितरणमा ढिलाइ भएको छ । जाजरकोटमा ३५ हजार १ सय ४० लाभग्राही रहेकोमा हालसम्म पहिलो किस्ताका लागि १५ हजार ३ सय ९ जनाले मात्र सम्झौता गरेका छन् ।

उनीहरू पनि सबैले रकम भने पाइसकेका छैनन् । नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाले हालसम्म लाभग्राहीलाई रकम वितरण गर्नै थालेका छैनन् । नलगाड नगरपालिकामा ८ हजार ९७ जना लाभग्राही रहेकोमा अहिलेसम्म पहिलो किस्ताका लागि ८ हजार २२ जनाले सम्झौता गरेका छन् । तर रकम भने अझै कसैले पनि पाएका छैनन् ।

यस्तै, जुनिचाँदे गाउँपालिकामा २५ सय ६३ लाभग्राही रहेकोमा अहिलेसम्म सम्झौता नै हुन सकेको छैन । पालिकाका जनप्रतिनिधि, प्रशासकीय अधिकृत र जिम्मेवार कर्मचारी विभिन्न सङ्घसंस्थाले आयोजना गरेका छलफल र गोष्ठीमा भाग लिन जिल्ला बाहिर गएका कारण पहिलो किस्ता वापत को रकम वितरण प्रभावित भएको प्रभावितले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्ला विपद् व्यवस्थापन समितिले ६ हजार १ सय ९९ लाभग्राहीका लागि १५ करोड ४९ लाख ७५ हजार रुपैयाँ सम्वन्धित स्थानीय तहको स्थानीय विपद् व्यवस्थापन समितिको खातामा जम्मा गरिसकेको बताए ।  विभिन्न कारणले जनप्रतिनिधि र पालिकाहरूका जिम्मेवार कर्मचारी जिल्ला बाहिर हुँदा रकम वितरणमा ढिलाइ भएकाे उनले बताए बताए ।

भूकम्प गएको २ महिना पुग्नै लाग्दा जाजरकोटमा ५ हजार २ सय ३ अस्थायी आवास निर्माण भएका छन् । चिसो बढ्दै गएको र अस्थायी आवास निर्माणको रकम नपाउँदा भूकम्प प्रभावितलाई भने समस्या भएको छ ।

८ पुष २०८०, आईतवार ०६:५० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्