१२ श्रावण २०८१, शनिबार

जाजरकोटका भूकम्प प्रभावितका लागि विन्टराइजेसन टेन्ट हस्तान्तरण

कर्णाली अपडेट

जाजरकोट । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले जाजरकोटका भूकम्प प्रभावितका लागि विन्टराइजेसन टेन्ट हस्तान्तरण गर्नुभएको छ । मन्त्री आचार्यले जाजरकोटको भेरी नगरपालिका १ रावत गाउँमा सेभ द चिल्ड्रेनद्वारा भइरहेका भूकम्प प्रतिकार्य कार्यक्रम क्षेत्रको भ्रमणको क्रममा भूकम्प प्रभावितहरूलाई विन्टराइजेसन टेन्ट हस्तान्तरण गर्नुभएको हो । युरोपेली संघद्वारा सेभ द चिल्ड्रेनलाई प्रदान गरिएका टेन्ट मन्त्री मार्फत भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको हो ।

टेन्ट हस्तान्तरण कार्यक्रममा मन्त्री आचार्यले जाजरकोट भूकम्पबाट प्रभावितलाई राहत तथा पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै यसका लागि सांसद विकास काेषको रकम परिचालन गर्ने सरकारले निर्णय गरेको बताउनुभयो । उहाँले भूकम्पबाट प्रभावित समुदायको संरक्षण, सुरक्षा, र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको  र प्रभावितहरूमध्येमा पनि महिला, बालबालिका, गर्भवती, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलगायतका अति प्रभावितहरूसम्म यथाशीघ्र अत्यावश्यक राहत तथा अन्य सहयोग पुर्‍याउन सेभ द चिल्ड्रेनलगायत संघ संस्थासँग सहकार्य गर्दै आइरहेको बताउनुभयो ।

सेभ द चिल्ड्रेनकी कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रीले विपद्को बेलामा भूकम्पबाट अति प्रभावित समुदायको जीवन रक्षा गर्ने सहायता लिएर तत्कालै प्रभावित क्षेत्रमा पुग्न सरकार र स्थानीय साझेदारहरूको सहकार्यबाट सम्भव भएको बताउनुभयो । विन्टराइजेसन टेन्टहरुले अत्यधिक जाडोको सामना गरिरहेका कैयौं बालबालिका, महिला र ज्येष्ठ नागरिकको ज्यान जोगाउने विश्वास लिएको पनि उहाँले बताउनुभयो । भूकम्प यता भूकम्प प्रभावित क्षेत्रमा तीन जना बालबालिका सहित ३२ जनाको अत्यधिक चिसोको कारण मृत्यु भएको छ ।

गत मङ्सिर २२ गते युरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई वितरण गर्न ८०० थान विन्टर टेन्ट प्रदान गरेको थियो चिसो मौसमलाई लक्षित गरी विशेष तवरले निर्मित यी टेन्टहरू अग्निरोधी, जलरोधी र चुल्होयुक्त छन् । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्ग मिटरको बास स्थल प्रदान गर्दछ ।

भूकम्प पश्चात् मानवीय सहायता कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनले विशेष गरी बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिको संरक्षण गर्न भूकम्प प्रभावित समुदायका लागि अस्थायी बास स्थल निर्माण, विन्टराइजेनि टेन्ट, मनोसामाजिक सहयोग, बालबालिकाका लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्रसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ ।

१० पुष २०८०, मंगलवार ०६:२६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्