१२ श्रावण २०८१, शनिबार

भारतीय सेन्सर बोर्डले रोक्यो ‘ओ माइ गड २’

कर्णाली अपडेट

‘आदिपुरुष’ विवादले सतर्क भएको भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । आदिपुरुषलाई जस्तै विवाद हुन नदिन सेन्सर बोर्डले ‘ओह माइ गड २’ को संवाद र दृश्यमा ध्यान दिंदै पुनः सेन्सर गर्ने भएको छ ।

हिन्दूस्तान टाइम्सका अनुसार सेन्सर बोर्डका सदस्यले फिल्ममा समावेश दृश्य र संवादका कारण भविष्यमा कुनै विवाद नआओस् भनेर सुनिश्चित गर्न खोजेका छन् । भारतीय चलचित्र जाँच समितिको परिमार्जन समितिले पुनः एकपटक फिल्मलाई जाँच गर्ने निर्णय गरेको हो ।

फिल्ममा समावेश कुन संवाद र दृश्यलाई लिएर सेन्सर बोर्डले आपत्ति जनायो भन्ने कुराको यकिन छैन । यद्यपि सेन्सर बोर्डअन्तर्गतको रिभिजन कमिटीले आगामी अगस्ट ११ मा फिल्मलाई प्रदर्शन अनुमति दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ ।

इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार भारतीय सेन्सर बोर्ड आदिपुरुषमा भएको गल्तीलाई दोहोर्‍याउने पक्षमा छैन । यसकारण पनि उसले पुनः एकपटक फिल्मका दृश्य र संवादलाई सूक्ष्म रुपले हेर्न चाहेको हो । स्रोतले इन्डिया टुडेलाई बताएअनुसार ‘ओ माइ गड २’ मा समावेश संवाद र दृश्यको सम्भावित विवादबाट बच्न बोर्डले ‘पूर्वविधिका उपाय’ अपनाइरहेको छ ।

‘यदि भगवान र धर्मसँग सम्बन्धित कुनै दृश्य र संवाद छन् भने समीक्षा र संसोधनका लागि रिभिजन कमिटीमा पठाइने छ,’ स्रोतले भन्यो । गत महिना रिलिज भएको ‘आदिपुरुष’का केही संवादलाई लिएर भारतभर चर्को आलोचना भएको थियो । विवाद चर्किएपछि उक्त फिल्मको प्रदर्शन नेपालमा समेत रोकिएको थियो ।

२८ असार २०८०, बिहीबार १२:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्