८ जेष्ठ २०८१, मंगलवार

भेरी नगरपालिकाको समृद्धिका लागि यसो गरौं

जनक केसी

जाजरकाेट । सदरमुकाम खलंगा समेत रहेको भेरी नगरपालिका जाजरकोटका सात स्थानीय तहहरु मध्य विकास र समृद्धिका प्रचुर सम्भावनाहरु भएको पालिका हो ।वन, पानी, कृषि उत्पादन र पर्यटन विकासका माध्यमवाट यहाँका जनताको समृद्धि र उन्नतिका लागि प्राप्त गर्न सकिने अवसरहरु धेरै छन् । मन देखि नै यो भुगोल र यहाँका जनता प्रति पुर्ण रुपले समर्पित भएर काम गर्ने तिव्र इच्छाशक्ति भएको नेतृत्व र दुरदर्शि योजना र संकल्प यदि भेरी नगरपालिकाले प्राप्त गर्न सक्यो भने कर्मकान्डी गफ र हल्लाहरुको कुनै स्थान नै हुने छैन ।
शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, पर्यटन र साना उद्योगहरुको विकास विस्तार र प्रविधिकरण गरेर जाने योजना, सोच र नेतृत्व यहाँका जनताका माझमा समयमै पाउन सक्यो भने भेरी नगरपालिकालाइ कर्णालीको अव्वल स्थानीय तह मात्र नभए मुलुककै एउटा नमुना नगरपालिकाको रुपमा स्थापित गर्न सकिन्छ किन भने सन्सारका अति विकसित देशहरु आजको स्थानमा पुग्नुको पछाडि ती देशभित्र भएको श्रोत र साधनले मात्र हैन सक्षम र सवल नेतृत्व भएर हो । जव परिवार समाज र देशले एउटा गतिलो नेतृत्व र अविभावक प्राप्त गर्छ अनि त्यहाँको प्रगति र उन्नति तथा सफलताका लागि सम्भावनाका फुलहरु खडेरीमा पनि फुल्न सुरु गर्छन ।
जव सम्म हामीले हाम्रो देश समाज र परिवारमा गतिलो नेतृत्व प्राप्त गर्न सक्दिनौं तव सम्म हाम्रा दिन पम्फरामा हात राखेरै वित्नेछन् । भेरी नगरपालिकाको विकास र समृद्धिका लागि हामीले विभिन्न क्षेत्र र विषयमा गर्न सक्ने कार्य उपाया र तथ्यहरु यहाँ प्रस्तुत गर्न चाहेको छु । भेरी नगरपालिकालाइ समृद्ध नगरपालिकाको रुपमा विकास गर्दै यहाँका जनताको समृिद्धका लागि के गर्ने, कसरी गर्ने, कहिले गर्ने कसले गर्ने भन्ने सवै प्रश्नहरुको सकेसम्म जवाफवारे मैले यहाँ छलफल गर्न चाहेको छु । समृद्ध भेरी निर्माणका लागि देखिएका सम्भावना, अवसर र उपायाहरु मैले यस्ता देखेको छु ।
कृषि उत्पादन तर्फ
भेरी नगरपालिकालाइ आर्थिक हिसावले आत्मनिर्भर वनाउन सकिने सवै भन्दा महत्वपुर्ण क्षेत्र भनेको कृषि उत्पादन हो । तरकारी र खाद्य तथा फलफुलहरुको उपयुक्त खेती मार्फत स्थानीय जनताहरुका लागि रोजगारीको अवसर सिर्जना गर्दै आत्मनिर्भर भेरी नगरपालिका निर्माणको महा अभियान सफल वनाउन सकिन्छ जसका लागि गर्नु पर्ने कामहरु
१ नगर क्षेत्रभित्रका होलुजिउला, कुदु, भुर, मटेला कालेगाउँ, पुन्मा, भेरे, काँस्तरा, रिसांग, पोख्रा, लगाएतका क्षेत्रमा अन्न तथा तरकारी उत्पादन वढाउन कोटखोला, रिसांगखोला र भेरी नदीको पानी प्रयोगको विशेष आधुनिक सिँचाइ योजना लागु गर्दै, आधुनिक उपकरण, विउ र प्रविधिको प्रयोग मार्फत कृषि उत्पादन वढाएर कृषिमा आत्मनिभएर भेरी वनाउन सकिन्छ ।
२. नगर क्षेत्र भित्रका ५ ठाउहरु कालेगाउँ, काँस्तरा, राम्री, रिसांग र मटेलालाइ तरकारी पकेट क्षेत्र वनाइ किशानहरुलाइ अत्याधुनिक प्रविधिको तालिम सहित विउविजन दिने, साधन तथा प्रविधिको प्रयोग गराउने, तरकारी संकलन केन्द्र वनाउने र संकलित तरकारीको लागि उपयुक्त वजारहरुको उचित व्यवस्था गर्दै तरकारीका पकेट क्षेत्र सम्म गुणस्तरीय सडक समेत निर्माण गरिदिने । यसका लागि स्थानीय जनशक्तिलाइ भरपुर उपयोग गर्ने
३. तिमीले, डिंगा, भेरे, वाहुनथान, पोख्रा, घोयलनेटा, भुरपोखरा, मैदे, इवरमा सुन्तला, मह, टिमुर र ओखरको पकेट क्षेत्र तथा कुदु, भुरचौर, वोहरामा व्यावसायिक आपँ, केरा र लिचिको पकेट क्षेत्र निर्माण गरि व्यावसायिकरण मार्फत उन्नत भेरी निर्माण गर्न सकिने ।
४. नगरपालिका भित्र पशुपालन र कुखुरापालन व्यवसायलाइ उन्नत व्यावसायीकरण तर्फ लिन नगरक्षेत्र भित्रका सवै खाली र वाझो जमिनमा डालेघाँस सहितका अन्य उपयोगी वोटविरुवाहरु विशेष लक्षका साथ रोपेर हरियाली पुनस्थापना गर्ने ।
५. सवै किसानहरुका वारीमा डालेघास खेती, मुख्य वनहरुमा महत्वपुर्ण मुल्यवान जडीवुटी र वनस्पतिको खेती तथा सुरक्षाका लागि विशेष योजनामा आधारित अभियान चलाउने ।
६. भेरी नगरपालिका भित्रको सवै खेती योग्य जमिन र वाँझो जमिनलाइ उत्पादनमुलक कृषि व्यवसायको लागि प्रयोग गराउन विशेष किशान सम्मेलन आयोजन गरेर सवै सम्भावना समस्या र उपायाहरुवारे छलफल गर्ने ।
पर्यटन विकास
भेरी नगरपालिकामा पर्यटन विकासको प्रचुर सम्भावना भएका कुदु रिम्ना, मछाइना, कालेगाउँ, मैदे, वाहुनथान, वडालेख, काफलचौर, खलंगाको दरवार क्षेत्र, सानीमालिका, र जगतिपुरको वायु घटट क्षेत्रलाइ नगरका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरि ती क्षेत्रलाइ नमुना आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास मार्फत स्थानीयका लागि रोजगारीको अवसर सिर्जना गर्न निम्न कार्यहरु गरौं,
१. ऐतिहासिक जाजरकोट दरवारको पुननिर्माण मार्फत यसलाइ कर्णाली प्रदेशकै मुख्य ऐतिहासिक तथा आकर्षक पर्यटकीय गन्तव्य वनाउन जाजरकोट दरवार संग्राहलय स्थापना गर्ने ।
२. भेरी नदीमा रयाफ्टींग सन्चालनका लागि विशेष योजना वनाइ लागु गर्ने ।
३. होलुजिउलाको तिनगाडै साङट र कोटखोला क्षेत्रमा मानवनिर्मित ताल र आकर्षक १३ वटा कलात्मक ढुंगे धाराहरु निर्माण गर्ने ।
४. भेरी नगरपालिकाका सवै प्रमुख पर्यटकीय गन्तव्यहरु सम्म सहज र गुणस्तरीय पहुचमार्ग निर्माण गरि तिनको प्रचार प्रसार गर्ने ।
५.भेरी नगरपालिका भित्र लाग्ने सवै मेला पर्व र जात्राहरुमा भेरी नगरपालिकाका उत्पादन तथा मौलिक पहिचान दिने कुराहरुको प्रचुर प्रदर्शनीको व्यवस्था मिलाउने । यसको मुख्य जिम्मेवारी नगर सरकार र स्थानीय जनताको विशेष सहकार्यमा पुरा गर्ने र ती जात्रा र मेलामा स्थानीय व्यापार र उत्पादनको प्रवद्र्धनलाइ विशेष प्राथमिकता दिने ।
६.कुदु र रिम्नामा वालवालिका र अन्यको लागि समेत उपयोगी हुने गरि फन पार्क (रमाइलो उद्यान) निर्माण गर्ने तथा वाहुनथानको सांट गुफा, मैदेको चमेरे गुफा तथा कुदुको भुमेस्वर गुफालाइ आकर्षक संरचना मार्फत उन्नत रुप प्रदान गरेर पर्यटक आकर्षित गर्ने ।
७.भेरी नगरपालिका १ कालेगाउँ स्थित शिवालय मन्दिर क्षेत्रमा निम्न संरचना वनाइ त्यसलाइ कर्णालीको मात्र नभइ मुलुककै आकर्षक धार्मिक पर्यटकीय क्षेत्र वनाउने
क. शिव भगवानको शिरमा रहने गंगाजीवाट पानी निस्केर भेरी नदीमा खसेको आकर्षक आकृति भएको पुर्ण कदको शिवको मन्दिर वनाउने
ख. जिल्लाका ७७ वडा र मुलुकका ७७ जिल्लाको प्रतिनिधित्व गर्ने गरि मन्दिर क्षेत्रमा आउने भक्तालु तथा अन्य आगन्तुकहरुले नुहाउन मिल्ने गरि मन्दिर छेउमा ७७ वटा कलात्मक ढुंगे धाराहरु वनाउने
ग. शिवालय क्षेत्रलाइ पुरै वलियो घेरावार गरेर भित्र आकर्षक वगैचा वनाउने
घ.तिर्थयात्रीहरु वास वस्ने भवन र पर्यटक भुलाउने रमाइला अन्य संरचनाहरु निर्माण गर्दै भेरी नदीको पानी सम्म पुग्न विभिन्न चार वटा सहज पहुच मार्ग वनाउने
८. मछाइनाको मालिकालाइ गोरखाको मनकामनाको जस्तै स्वरुपमा निर्माण गर्दै यसको सम्पुर्ण पुर्वाधार निर्माण गरेर आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने
९. भेरी नगरपालिकामा पर्यटन विकासका सम्भावना, समस्या र समाधानका उपायाहरुवारे सवै सरोकारवालाहरुसंग यस क्षेत्रका विज्ञहरु सहित जिल्लाका सवै सरोकारवालाहरु सम्मिलित वैठक गर्ने र सोवाट प्राप्त निष्कर्षलाइ कार्यान्वयन गर्ने ।
१०. होलु जिउला र भेरी नदीको कुनै भाग रिम्ना, कुदु, धल्ला, मटेला मध्य एक ठाउँमा व्यवस्थित ढंगले पानी जम्मा गरेर मानवनिर्मित ताल वनाएर आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षित गर्दै स्थानीय जनताको व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय उत्पादनमा वढावा दिने ।
शिक्षावारे के गर्ने
१. शिक्षक तालिमलाइ अनिवार्य गर्दै त्यो तालिम विद्यालयको पठनपाठनलाइ असर नपारी पढाउदा पढाउदै शिक्षक तालिम नाम दिएर पढाउदै तालिम गर्दै गरि सन्चालन गर्ने ।
२. विद्यालयमा हुने सवै गतिविधिहरुमा नगर सरकार, स्थानीय सरोकारवाला र अन्य सम्वद्ध पक्षहरुले विशेष निगरानी राख्दै नियमित र गुणस्तरीय पढाइका सवै आधारभुत मापदण्डहरु लागु गर्दै उन्नत उपायाहरु प्रयोग गर्ने ।
५. कक्षा ५ देखि ८ सम्मका सवै विद्यार्थीहरुलाइ अनिवार्य कम्प्युटर शिक्षा दिने जसका लागि आवस्यक जनशक्ति र स्रोत साधनको व्यवस्था गर्ने ।
६. स्थानीय पाठ्यक्रम निर्माण गर्ने जसमा आधारभुत जीवनउपयोगी सीपहरु, आत्म अनुशासन, आदरसत्कार, स्थानीय लवच, कला, सँस्कृति,परम्परा र सम्पदाको ज्ञान दिने तथा तिनको संरक्षणका लागि जनशक्ति उत्पादनमा सहयोग पुरयाउने काम गर्ने ।
७. विद्यालयमा धारा, चर्पी, स्यानीटरी प्याड, खेलकुद, मनोरन्जन, अतिरिक्त क्रियाक्लाप, सामाजिक सीपहरुको विकास लगाएतका क्रियाक्लापहरु अनिवार्य रुपमा गर्न लगाउने यसका लागि नगर सरकारले आवस्यक सवै प्रकारको साथ दिने ।
८. उच्च शिक्षा र प्राविधिक शिक्षा पढ्न चहाने तर घरको निकै कम्जोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाइ पढ्नका लागि नगरपालिकाले सर्तसहित सहयोग गर्ने र पढिसकेपछि नगरपालिकाभित्रका जनताको कम्तीमा ५ वर्ष सेवा गर्ने र अन्य अवस्थामा नगरको विकास र समृद्धिका लागि योगदान गर्नै पर्ने ।
८. कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुमा आधारभुत सीप र ज्ञान प्राप्त नभए सम्म विद्यालयलाइ दिइने अनुदान र शिक्षकलाइ दिइने सेवा सुविधा घटाइदिने तर यसका लागि गतिलो वातावरण र शिक्षकलाइ हौसला दिन स्थानीय सरकार, समाज र सम्वद्ध पक्षहरुले सक्रिय योगदान गर्नुपर्ने ।
९. कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुमा पढाइको तह अनुसार सैद्धान्तिक तथा व्यवहारिक रुपले ज्ञान प्रयोगमा सक्षम र आत्मनिर्भर भएकै हुुनु पर्ने अन्यथा शिक्षक र विद्यालयलाइ आवस्यकता अनुसार कारवाहि हुने त्यसका लागि सम्वद्ध सवै पक्षले शिक्षक र विद्यालयलाइ साथ दिनु पर्ने ।
१०. कक्षा ५, ८ र १०का विद्यार्थीहरुको ज्ञान सिकाइ र क्षमता जाँच गर्न नगरले विशेष परीक्षा सन्चालन गर्ने र सो आधारमा शिक्षक र विद्यार्थीहरुका साथै विद्यालयको नतिजा घोषणा गरि आवस्यक कारवाहि गर्ने ।
११. वर्ष भरि राम्रो काम गर्ने शिक्षक , विद्यालय र विद्यालय व्यवस्थापन समितिलाइ विशेष समारोहको आयोजना गरि सम्मान र पुरस्कार दिने व्यवस्था गर्ने ।
१२. विद्यालयको समग्र अवस्थाको वारे नियमित अनुगमन गर्ने र प्राप्त रिपोर्टका आधारमा आवस्यक कारवाहि गर्ने, नीति निर्माण गर्ने, र योजना वनाउने काम गर्ने ।
१३ शैक्षिक गुणस्तर, दक्ष जनशक्तिको उत्पादन तथा जिम्मेवार शिक्षक र अभिभावक निर्माणका लागि विशेष योजना वनाइ लागु गर्ने ।
१४. विद्यालयमा पढ्ने कक्षा ३ देखि १२ सम्मका सवै विद्यार्थीहरुलाइ वर्षमा दुइ पटक विशेष कक्षा मार्फत समाज, घर परिवार र आफनो जीवनका प्रति सकरात्मक तथा सम्मानजनक सोचको विकास गराउने तथा जीवनको लक्ष र सपनाको वारेमा उत्प्रेरणामुलक शिक्षा र जागरणमुलक कक्षा प्रदान गर्ने ।
१५. कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाइ लक्षित गरि मेरो सिकाइ मेरै जीवन निर्वाहका लागि नामक कार्यक्रम सन्चालन गरेर उनीहरुलाइ आत्मनिर्भर जीवनयापनका लागि आधारभुत जीवनउपयोगी सीप विकास र प्रयोगको अवसर दिने ।
स्वास्थ्य तर्फ
१. नगर भित्रका सवै स्वास्थ्य सँस्थाहरुको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहको अवस्था सुदृढ वनाउन नगर सरकारले आन्तरिक र वाहय श्रोत र साधनको जोहो गर्ने तर्फ गम्भीर पहल सहितको जिम्मेवारी लिने ।
२. १० वर्ष देखि तल र ६० वर्ष माथिको उमेर भएका सवै विपन्न नागरिकहरुको निशुल्क उपचारको व्यवस्था मिलाउने ।
३. गर्भवती, सुत्केरी र अति विपन्न नागरिकहरुको उपचारका लागि नगर सरकारले जिल्ला अस्पताल सम्म पुग्नका लागि निशुल्क यातायात सुविधा उपलव्ध गराउने ।
४. गर्भवती भएको चार महिना देखि सुत्केरी भएको दुइ वर्ष सम्म आमा र वच्चाको स्याहार एवम पोषणका लागि नगर सरकारले विशेष भत्ता र पौष्टिक खानाको व्यवस्था गर्ने ।
५. नगर भित्रका अति विपन्न समुदायका जनताको लागि आवस्यक कार्यविकि वनाइ निशुल्क औषधी वितरणको व्यवस्था मिलाउने ।
६. ठुलो रोग व्याधी लागेका नगरभित्रका विपन्न नागरिकहरुको उपचारमा सहयोग पुरयाउन नागरिक सुरक्षा कोष स्थापना गरि आवस्यक सहयोगको व्यवस्था मिलाउने ।
५. उद्योग
१. नगरपालिका भित्र जडीवुटी प्रशोधन, नेपाली हातेकागज, कुचो,डोको, डालो, जुत्ता,कुचो निर्माण तथा क्रसर अनि काष्ठ उद्योगका लागि वैज्ञानिक तथा व्यवस्थित विधि, योजना ,नीति र वजेटको प्रयोग गरेर जनतालाइ औधोगिकरण तर्फ सामेल गराउने यो गर्दा भेरी नगरको मौलिक पहिचान र भुगोललाइ संरक्षण गर्न विशेष ध्यान दिने ।
३. नगरपालिकामा उद्योग व्यवसायका सवै सम्भावनाहरुको उजागर गर्न विशेष अध्ययन गरि नीति कार्यनीति र रणनीति वनाएर कार्यन्वयन गर्ने ।
४. उद्योग धन्दा सन्चालन गर्दा नगरवासीहरुलाइ नै सहभागि गराउने र नगरवासीको रोजगारी र उत्पादनलाइ नै प्राथमिकता दिने ।
५. न्यानो कपडा, अचार, तथा अन्य दैनिक उपभोग्य वस्तुहरुको उत्पादनको लागि नगर सरकारले साना तथा मझौला उद्योग स्थापनाको पहल गर्दै स्थानीय जनताको पुर्ण सहभागिता गराएर सन्चालनको जिम्मेवारी पनि लिने ।
६. कालाभुरमा कोइला खानी, भेरी किनारमा सुनखानी, वुदवुदीमा चुनढुंगा खानी भएको खवर पटक पटक आइरहेकोले यी वाहेक अन्य खानीहरुको पहिचान र उत्खनन्का लागि नगरपालिकाले अग्रसरता लिने र भावि योजना तय गर्ने ।
रोजगारीका अवसर
१. नगरका जनताको रोजगारी र आर्थिक क्षमता विकासका लागि नगर सरकारको विशेष पहलमा सवै वडामा स्थानीय सम्भावना अनुसार विभिन्न लघु उद्यमहरु सन्चालन गरि वेरोजगार नागरिकहरुका मौलिक सीपहरु उपयोग गर्ने ।
२. नगरभित्र हुने कुनै पनि विकास निर्माण, प्रोजेक्ट, र अन्य कार्यक्रमहरुमा नगरभित्रका योग्य र सक्षम युवाहरुलाइ पहिलो मौका दिने र वाहिरवाट मानिस ल्याएर काममा लगाउन नपाइने व्यवस्था गर्ने ।
३ं नगर प्रहरी, शिक्षक, प्राविधिक जनशक्ति र अन्य क्षेत्रमा रोजगारीका अवसरहरु वितरण गर्दा न्यायपुर्ण व्यवहार देखाउदै एक घर एक रोजगार नीतिलाइ सफल रुपमा कार्यान्व्यन गर्ने ।
४. कृषि, उद्योग, र उत्पादनका कामहरु नगरक्षेत्र भित्रका जनतालाइ नै रोजगारी र समृद्धि दिनमा केन्द्रित गर्ने ।
५. नगर क्षेत्र भित्रका कोहि पनि शिक्षित र सक्षम युवाहरुलाइ वेरोजगार हुन नदिन विभिन्न सीप र तालिममा व्यस्त राख्दै उनीहरुलाइ कृषि, वनसंरक्षण तथा औधोगिक उत्पादनका काममा प्रयोग गर्ने । यसका लागि उनीहरुको रुचि, योग्यता र क्षमता सुहाउदो तालिमको व्यवस्था गर्ने ।
६. नगरभित्रका सवै वेरोजगार जनतालाइ कुनै न कुनै रुपले आयआर्जनमा सहभागि भइरहन पाउने अवसर, वातावरण र दायित्व सिर्जना गर्ने ।
६. पुर्वाधार
१. निर्माण भएका सवै कच्ची सडकहरु कालेपत्रे गर्ने अभियान चलाउने ।
२. सवै वडाहरुमा नाली सहितका गुणस्तरीय सडक निर्माण गर्ने र विद्यालयका सवै जीर्ण भवनहरु पुननिर्माणको अभियान चलाउने
३. वजार क्षेत्रमा कम्तीमा ४ मिटर र सहायक र मुख्य राजमार्गमा नियमानुसार सडक चौडा अनिवार्य रुपमा गराउने ।
४. व्यवस्थित सहरीकरण र वजारीकरणको नीति तथा मापदण्ड वनाएर खलंगावजार, कुदुवजार, स्याउली वजार, फेरावजार, रिम्ना वजारमा कडाइका साथ लागु गर्ने ।
५. भेरी नगरपालिकालाइ फ्रि वाइफाइ जोन वनाउदै सवै जनतालाइ इन्टरनेटको पहुच प्रदान गर्ने
६.नगरपालिकामा व्यवस्थित ढंगले फोहर व्यवस्थापन र ढलनिकासका लागि उन्नत व्यवस्थापन गर्ने ।
७. नगरपालिका र जिल्लाका अन्य क्षेत्रका जनतालाइ एकै स्थानवाट सहज र सुलभ तरिकाले सरकारी सेवा प्रदान गर्नका लागि वहुउद्देस्यीय भवन निर्माणको लागि जाजरकोट अस्पतालको आसपास र स्वास्थ्यसेवा कार्यालयको जग्गालाइ प्रयोग गर्ने तर्फ कार्य गर्ने ।
७. धर्म, कला परम्परा र संस्कृति
१. नगरभित्रका सवै कला, सँस्कृति र परम्पराहरु (खलंगाका नेवार समुदायको लाखे नाँच, जगतिपुरवाट जाजरकोट दरवार सम्म फुलपाती सहित खडगे देवता भित्रयाउने पर्व, महावनमीमा मौलो पुजा गर्ने पर्व)को संरक्षणका लािग विशेष नीति र योजना वनाएर लागु गर्ने
२. मेला, जात्रा, पर्वहरुको उचित रुपमा मौलिक ढंगले संरक्षण गर्नका लागि नगर सरकारले जिम्मेवारी लिने ।
३. नगरभित्रका सवै मौलिक नाच, गीत र चलनहरुको संरक्षणमा योगदान गर्नका लागि नियमित प्रतियोगिता गर्न विद्यालय, वडा र नगर स्तरमा विशेष योजना सहित कार्यक्रमहरु गर्ने गराउने ।
५. रमाइलो मेला, पाँचकटिया,भुरपोख्राको मेला,मालिका मेला, शिवालय मेला, काफलचौर मेला लगाएतका नगरभित्रका अन्य मेलाहरुलाइ स्थानीय उत्पादनको प्रदर्शनी र मौलिक कला तथा खेलकुद प्रदर्शनीको अवसरको रुपमा प्रयोग गर्ने ।
८.खेलकुद
१. नगरभित्रका सवै विद्यालयहरुमा फुटवल, व्याटमिन्टन, क्रिक्रेट, भलिवल र ऐथ्लेटिक्स खेल सन्चालनलाइ नियमित वनाउने ।
२. नगरको आयोजनामा युवा विद्यार्थीहरुको सहभागिता हुने गरि प्रत्यक वर्ष वडा स्तरीय खेलकुद र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सन्चालन गर्ने ।
३. नगरपालिकामा व्यावसायिक खेलाडी निर्माण तथा उत्पादनका लागि विशेष अवसरहरु योजना वनाएर सिर्जना गर्ने ।
४. विद्यार्थी र युवाहरुलाइ खेलक्षेत्रमा आकर्षित गरि जिल्लामा व्यावसायिक तथा सफल खेलाडी उत्पादनमा सहयोग गर्न प्रत्यक वर्ष भेरीनगर खेल महोत्सवको आयोजना गर्ने ।
९. सार्वजनिक सेवा प्रवाहको अवस्था
१ कार्यालयमा सेवा लिन आएका जनतालाइ कामको प्रकृति हेरेर १० मिनेट देखि २ घन्टा भित्र सेवा दिने ।
२. जनतालाइ भोलि आउनु भनेर काम नगरी फर्काउने चलन र भ्रष्ट तथा अल्छी कर्मचारीहरुको नियम वडा र नगर कार्यालयमा कडाइका साथ हटाउने ।
३. सेवा लिन आएका जनतालाइ त तिमी भन्ने हप्काउने र वेवास्ता नगर्ने ।
४. नगरमा सेवा लिन आएका जनताले कर्मचारी र जनप्रतिनिधिलाइ नमस्ते गर्ने चलन तोडेर कर्मचारी र जनप्रतिनिधिले नै जनतालाइ नमस्ते गरेर समानपुर्वक सेवा दिने व्यवस्थाको सुरुवात गरि वडा तथा नगर कार्यालयमा सेवा लिन आएका जनताको लागि उपयुक्त वस्ने ठाँउ र पिउने पानीको व्यवस्था गर्ने ।
५. जिल्लाभरिका जनता र भेरीका जनतालाइ एकै स्थानवाट जिल्लाको सरकारी सेवा प्रवाहको व्यववस्थालाइ सुलभ तथा सहज वनाउने तर्फ नगरले अस्रसरता लिने ।
१०. वन वन्य जन्तु र पानीका मुहान
१. भेरी नगरभित्रका प्रमुख जंगल क्षेत्रको संरक्षणका लागि विशेष योजना वनाइ लागु गर्ने ।
२. पानीका मुहान संरक्षणका लागि दिगो व्यवस्थापन सहितको योजना निर्माण गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
३. नगरको जंगलमा भएका वन्यजन्तु र चराचुरुंगीको संरक्षणका लागि विशेष समन्वयात्मक योजना निर्माण र कार्यान्वयन गर्ने यसका लागि डिभीजन वन कार्यालय, जिल्ला प्रशासन तथा अन्य सुरक्षा निकायसंग समन्वय गर्ने ।
४. नगर क्षेत्रको जंगलमा पाइने विभिन्न वहुमुल्य जडीवुटीहरुको संरक्षण पहिचान तथा सुरक्षा गर्न विशेष योजना वनाएर कार्यान्वयन गर्ने ।
५. वुदवुदी, निमारे, स्याँला, गोगनीखोला, नेटा, पुराना रिसांग, वस्तीला, खर्या, साउनेपानी, कोटखोला, कालेगाउँ, स्याँला, रिम्ना, पिपे, मैदे, वाहुनथान, पोखरा, भुर,गंगटिया, इवर, काफलचौर, मटेला,जगतिपुर, फेरा, भुरचौर, कुदु, भेरे, डिंगा, राङसी, तिमीले, वडालेक, मालिका,पुन्मा स्याउली, लगाएतका अन्य वजार र वस्तीका छेउमा रहेका पानीका मुहानहरुको दिर्घकालीन संरक्षण गर्न विशेष योजना र कार्यक्रम वनाइ लागु गर्ने ।
६. भेरी नगरभित्र पुर्वाधार निर्माणको जुनसुकै योजनाको काम गर्दा पनि योजना स्थल वरिपरि कम्तीमा २ सय विरुवा रोप्नै पर्ने सोको संरक्षण गर्ने जिम्मा सरोकारवाला र स्थानीय जनता र सामुदायिक वन उपभोक्ता समितिलाइ दिने कार्यक्रम लागु गर्ने ।
सामाजिक सुरक्षा नगर शान्ति कार्यक्रम
१. जेष्ठ नागरिक, विपन्न नागरिक, वालवालिका, गर्भवती तथा सुत्केरी र प्रकोप पिडित नागरिकहरुको राहत, उपचार, र अन्य सहयोग गर्न ५० लाख देखि १ करोड सम्मको नागरिक सुरक्षा तथा राहत कोष स्थापना गर्ने र त्यसलाइ विशेष कार्यविधि वनाएर लागु गर्ने ।
२. सो कोषमा विकास निर्माण, कर, र अन्य अनुदान सहयोगवाट प्राप्त रकम जम्मा गर्ने ।
३. कुलतमा लागेका, युवा तथा वालवालिकाहरुका लागि विशेष परामर्षमुलक कार्यक्रम नियमित रुपमा गर्दै वेकामे युवाहरुलाइ सिर्जनात्मक कार्यमा सहभागि वनाउदै व्यस्त गराउने ।
४ नगरभित्रका युवाहरुमा सकरात्मक जोशजाँगर प्रेरणा र हौसला जगाउन वर्षमा एक पटक युवा सम्मेलन, खेलकुद तथा अन्य उपयोगी कामहरु गर्न विशेष योजना निर्माण गरि कार्यान्वयन गर्ने ।
५. नगरपालिकाको समृद्धि एवम परिवर्तनका लागि विशेष गुरुयोजना मार्फत मार्गचित्र कोर्न नगरभित्रका सवै दल, वुद्धिजीवी व्यावसायी नागरिक र युवा जेष्ठ नागरिक वालवालिकाहरुको सहभागितामा नगर सम्मेलन गर्ने र उक्त सम्मेलनले तय गरेका मार्गदर्शनलाइ नगर समृद्धिको योजना, नीति र कार्यक्रमहरु निर्माणको श्रोत वनाउने ।
६.घर शान्ति नै परिवार समाज र पुरा नगर शान्तिको आधार भन्ने नारालाइ हृदयंगम गरि नगरपालिकाको विशेष पहलमा सासुवुहारी सहकार्य कार्यक्रम सुरु गर्ने तथा घर र समाजका हरेक कार्यक्रम र गतिविधिमा सासुवुहारीको सहकार्य गराउने यस्तै नन्द भाउजु, आमाजु वुहारी, कार्यक्रम पनि सन्चालन गर्ने ।
१० भेरी नगरका गाउँ टोल र वस्तीहरुमा जनश्रमदान र सामाजिक एकताको भावनालाइ वलियो रुपमा प्रयोग गर्न हाम्रो भेरी , वनाऔं हाम्रै पसिना खेरी कार्यक्रम सन्चालन गर्ने ।
११. १८ वर्ष उमेर नपुगेका नागरिकलाइ सवारीसाधन चलाउन पुर्ण रुपले निषेध गर्ने र १२ कक्षा सम्मका विद्यार्थीहरुलाइ मोवाइलको प्रयोगमा प्रतिवन्ध लगाउने ।

लेखक केसी नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष तथा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।

१८ बैशाख २०८१, मंगलवार १२:५६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्