६ जेष्ठ २०८१, आईतवार

कोशीका प्रदेश प्रमुखले मागे महान्यायाधिवक्तासँग राय

कर्णाली अपडेट

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रको माग अनुसार नयाँ सरकार गठन आह्वान गर्ने कि नगर्ने भन्ने विषयमा कोशीका प्रदेश प्रमुख परशुराम खापुङले महान्यायाधिवक्तासँग राय माग गरेका छन् ।

बुधबार एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख खापुङलाई निवेदन दिएका छन् ।

त्यसपछि खापुङले यस विषयमा प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ता दीनमणि पोखरेलसँग राय माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले कोशीबाट पत्र आएको पुष्टि गरेको छ ।

सत्ता समीकरण फेरिएपछि २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । उनीहरुले ३० दिनभित्र अर्थात २५ वैशाखभित्र विश्वासको मत नलिएका कारण मुख्यमन्त्री कार्की पदमुक्त भएको जिकिर गर्दै अर्को सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले संविधान, कानुन र विगतका अभ्यास हेरेर यस विषयमा निर्णय गर्ने जवाफ दिएका थिए ।

स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयले बुधबार नै राय पठाउने तयारी गरेको छ ।

बुधबार नै नयाँ सरकार गठनको आह्वान हुन सक्ने भन्दै एमाले र माओवादी केन्द्रले आफ्ना सांसदलाई विराटनगर नछाड्न निर्देशन दिएका छन् । संविधानको धारा १६८ को ५ अनुसार सरकार गठन आह्वान भएमा सबै सांसदको हस्ताक्षर आवश्यक पर्ने भन्दै उनीहरुले सांसदहरुलाई विराटनगरमै बस्न बनेका हुन् ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सांसदलाई विराटनगर नछाड्ने निर्देशन दिइएको बताए ।

बुधबार सरकार गठन आह्वान भए बिहीबार बिहान एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने दुई दलको तयारी छ ।

२६ बैशाख २०८१, बुधबार १८:५८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्