१२ श्रावण २०८१, शनिबार

खाद्यको चामल गोदाममा,भूकम्प प्रभावित भोकै

कर्णाली अपडेट

जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको चामल महङ्गो परेपछि जाजरकोट र रुकुम पश्चिममा पठाइएको चामल बिक्री हुन सकेको छैन ।

सर्वसाधारण उपभोक्ताको लागि सहुलियतमा बिक्री गर्ने भनिएको चामल बजारमा उपलब्ध हुने चामलको हाराहारीमै मूल्य पर्ने भएकाले गोदाममै थन्किएको हो । जाजरकोट जिल्लामा ढुवानी अनुदानमा सरकारले उपलब्ध गराउने चामल महङ्गो परेका कारण बजारकै चामल किन्ने गरेको उपभोक्ताको भनाइ छ । भूकम्पका कारण घरमा राखिएको खाद्यान्नमा क्षति पुगेपछि प्रभावितहरूले किनेर खानुपर्ने बाध्यता छ । अन्य समयमा किलोको ९२ पर्ने जिरा मसिना चामल गएको असोज २१ देखि आउँदो माघ २ गतेसम्म सहुलियतमा ८५ मा दिँदा पनि स्थानीयहरूले खाद्यबाट चामल पर्याप्त मात्रामा खरिद गरेका छैनन् ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौड्यालले रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको आज बिहानको भागमा कुराकानी गर्दै महङ्गमो चामलमा उपभोक्ताको आकर्षण नदेखिएको बताए ।

उनका अनुसार चाडबाडका लागि खोलिएको बिक्रीमा खलङ्गामा १ सय ३३ क्विन्टल जिरा मसिनो, १ सय ७ क्विन्टल सोना मन्सुली, ७३ क्विन्टल मकवानपुर र १२ क्विन्टल मोटा चामल गरेर ३ सय २५ क्विन्टल जति मात्र बिक्री भएको थियो । जाजरकोटकै बारेकोटमा ४२ क्विन्टल, नलगाडमा ३९ क्विन्टल, जुनिचाँदेमा २ सय ६५ र छेडागाडमा १.२५ क्वीन्टल चामल बिक्री भएको पौड्यालको भनाइ छ ।

नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोट खलङ्गा गोदाममा ६ सय ९०क्विन्टल चामल अझैँ बिक्री हुन सकेको छैन । रुकुम पश्चिमा पनि महङ्गो भएकै कारण सहुलियता चामल बचे पनि  चामल बिक्री हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुम पश्चिमका शाखा प्रमुख विनोद चन्दले बताए ।

उनका अनुसार चाडबाडका लागि खोलिएको बिक्रीमा गोदामबाट ३ सय ४३ क्विन्टल ७५ किलोग्राम जिरा मसिनो, ३१ क्विन्टल ७५ किलोग्राम सोना मन्सुली, १ सय ८० क्विन्टल मध्यम चामल र ५२ क्विन्टल मोटा चामल गरेर ६ सय ७ क्विन्टल ५० किलोग्राम जति मात्र बिक्री भएको र अझै २ सय १२ क्विन्टल २५ किलोग्राम गोदाममै रहेको छ ।

१७ पुष २०८०, मंगलवार १५:३९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्