१२ श्रावण २०८१, शनिबार

जाजरकोट भूकम्पको २ महिना बित्यो, १३ हजार प्रभावितले अनुदानको पहिलो किस्ता नै पाएनन्

कर्णाली अपडेट

जाजरकोट । जाजरकोट भूकम्पको दुई महिना पुगेको छ । गत कात्तिक १७ गते गएको भूकम्पबाट जाजरकोटमा ३५ हजार घर भत्किएकोमा अस्थायी आवास बनाउन अझै १३ हजार लाभग्राहीले पहिलो किस्ता बापतको रकम पाउन सकेका छैनन् ।

जाजरकोटका भूकम्प प्रभावित ३५ हजार १ सय ४० लाभग्राहीमध्ये हालसम्म २१ हजार ९ सय ४६ जनाले पहिलो किस्ताका लागि सम्बन्धित पालिकामा सम्झौता गरेका छन् । १३ हजारभन्दा बढी प्रभावितले पहिलो किस्ता अझै नपाएका हुन् ।

जुनीचाँदे गाउँपालिकाका २ हजार ५ सय ६३ मध्ये हालसम्म १ सय ५५ जनालाई अस्थायी आवासबापतको पहिलो किस्ता वितरण गरिएको छ । बाँकी परिवार जोखिम मोलेर चर्किएको घरभित्र बस्न बाध्य छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिले जुनीचाँदेका लाभग्राहीका लागि एक साता अघि नै स्थानीय विपत् व्यवस्थापन समितको खातामा ६ करोड ४० लाख ७५ हजार रुपैयाँ पठाइसके पनि ढिला गरी बाँड्न थालिएको हो । सदरमुकामसमेत रहेको भेरी नगरपालिकामा ६ हजार ६ सय ३१ लाभग्राही कायम भएकोमा हालसम्म ४ हजार ४ सय ७८ ले पहिलो किस्ता पाएका छन् ।

त्यहाँ हालसम्म १ सय ५० मात्र अस्थायी आवास बनेका छन् । त्यस्तै नलगाड नगरपालिकामा ८ हजार ९७ लाभग्राही कायम भएकोमा २ सय ३४ ले मात्रै पहिलो किस्ता पाएका छन् ।

जिल्लाभर हालसम्म ८ हजार ९ सय ७६  अस्थायी आवास निर्माण हुँदा प्रभावितले रकम नपाएकैले जुनीचाँदेमा अहिलेसम्म एउटा पनि अस्थायी आवास बनेको छैन ।

१८ पुष २०८०, बुधबार ०९:५९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्