२७ बैशाख २०८१, बिहीबार

दाङमा प्रहरी जवानद्वारा श्रीमती र छोराको घाँटी थिची हत्या

कर्णाली अपडेट

दाङ । दाङमा प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका विक र साढे दुई वर्षीय छोरा सुशान्तको आज बिहान घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार नेपालगन्ज डेरा गरी बस्ने श्रीमती हिजो दाङ आएको र पिमलालले घोराहीस्थित एक होटेलमा आज बिहान उनीहरूको हत्या गरेका हुन् । रोल्पा रुन्टिगढी घर भएका पिमलाल श्रीमती टिका र छोरा सुशान्तसँग गतराति घोराहीस्थित एक होटेलमा बास बसेका थिए ।

श्रीमती सहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए ।

पिमलालले श्रीमतीलाई आफ्नो घर रोल्पामा बुवाआमासँग बस्न भनेको र श्रीमतीले आफूलाई बजारमै डेरा गरी राख्न भनेको कुरामा विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

प्रहरी जवान गत मंसिरमा मात्रै सरुवा भएर जिल्ला प्रहरी कार्यालय दाङ आएका थिए ।

२१ माघ २०८०, आईतवार १७:४८ मा प्रकाशित
Nabintech