जाजरकोट । नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माननीय खडक बहादुर बुढाले जाजरकोटको नलगाड नगरपालिकामा मतदातासँग भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रममा स्थानीय बासिन्दासँग भेट्दै सांसद बुढाले आफूलाई विश्वास गरेर विजयी बनाएकोमा मतदाताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले जनताको मतले आफूलाई ठूलो जिम्मेवारी दिएको बताउँदै अब त्यसको सम्मान गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सांसद बुढाले “भोट मेरो लागि मात्रै होइन, तपाईंहरूका लागि पनि हो। तपाईंहरूको विश्वासले हामी चुनाव जितेका छौँ,” भन्दै जनताको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै उहाँले विकट बस्तीहरूको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। विशेषगरी दुर्गम बस्तीहरूमा सडक निर्माण गरी स्थानीय बासिन्दालाई सहज यातायातको पहुँच उपलब्ध गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो।
साथै उहाँले लोकतन्त्रमा जीत–हारभन्दा पनि जनताको सहभागिता र विश्वास सबैभन्दा ठूलो कुरा भएको बताउनुभयो। “म मात्रै विजयी भएको होइन, हामी सबै विजयी भएका हौँ। नेपाली काँग्रेस मात्रै होइन, हामी सबै पार्टी विजयी भएको हो,” उहाँले भन्नुभयो।
सांसद बुढाले आगामी दिनमा जनताको अपेक्षा र आवश्यकतालाई ध्यानमा राख्दै नलगाड नगरपालिकाको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।











