जाजरकोट । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, जाजरकोट शाखाले १२औँ ग्राहक सदस्य गुनासो सुनुवाइ, इकाइ भेला, वित्तीय साक्षरता कार्यक्रम तथा ग्लोबल मनी वीक २०२६ को अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा केन्द्रीय कार्यालय काठमाडौँबाट वरिष्ठ विभागीय प्रमुख हरिराज लोहनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रबन्धक कृष्ण वन, अनुगमन अधिकृत राजु केसी र तपेन्द्र साउद तथा प्रादेशिक कार्यालयका कर्मचारी पुष्पराज अधिकारीको उपस्थिति रहेको थियो।
जाजरकोट र रुकुम पश्चिम जिल्लाका सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा जाजरकोटको भेरी नगरपालिका, कुशे गाउँपालिका तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका प्रतिनिधि सदस्यहरू सहभागी थिए।

कार्यक्रममा वरिष्ठ विभागीय प्रमुख हरिराज लोहनीले लघुवित्त क्षेत्रको वर्तमान अवस्था, संस्थाले प्रदान गरिरहेका सेवा–सुविधा तथा भावी योजनाबारे जानकारी गराउनुभयो। प्रदेश प्रबन्धक कृष्ण वन तथा अनुगमन अधिकृतद्वय राजु केसी र तपेन्द्र साउदले वित्तीय साक्षरता, पारिवारिक बजेट व्यवस्थापन तथा लघुवित्तसँग सम्बन्धित भ्रम र अफवाहबारे स्पष्ट पार्नुभयो।
कार्यक्रमका अवसरमा तीन जना सफल व्यवसायी सदस्यलाई जनही रु. ८,११५ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै उत्कृष्ट ३ व्यवसायी सदस्यलाई रु. ८,५१५ नगदसहित प्रशंसापत्र वितरण गरिएको थियो।
त्यसैगरी, संस्थामा आबद्ध सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई जनही रु. १४,००० छात्रवृत्ति तथा प्रशंसापत्र प्रदान गरिएको थियो। सांस्कृतिक प्रस्तुति दिने कलाकारलाई प्रोत्साहनस्वरूप रु. १,००५ प्रदान गरिएको थियो।
संस्थामा आबद्ध विभिन्न इकाइहरूमध्ये उत्कृष्ट १० इकाइलाई रु. १७,५५० नगद पुरस्कार, रु. ३६,००० छात्रवृत्ति तथा प्रमाणपत्र वितरण गरिएको शाखा प्रबन्धक तथा कार्यक्रम सञ्चालक मानबहादुर रानाले जानकारी दिनुभयो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, अभिभावक, कार्यक्रमका लागि हल उपलब्ध गराउने त्रिभुवन माध्यमिक विद्यालय तथा खाजा–नास्ताको व्यवस्था गर्ने आराधना होटल एन्ड लजप्रति शाखा प्रबन्धक रानाले धन्यवाद व्यक्त गर्नुभयो।











