जाजरकोट । गत आइतवार परेको असिना पानीका कारण पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिकामा सडक अवरुद्ध हुँदा सदरमुकाम खलंगा आउजाउमा समस्या उत्पन्न भएको छ।
जुनिचाँदे गाउँपालिकाका वडा नं. ५, ६, १० र ११ तथा छेडागाड नगरपालिकाका वडा नं. ७, ८, ९ र १० का विभिन्न सडक खण्ड अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्। सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा सर्वसाधारणले दैनिक आवश्यक कामकाज, उपचार सेवा, शैक्षिक गतिविधि लगायतका कार्यका लागि आवतजावत गर्न कठिनाइ भोगिरहेका छन्।
स्थानीयका अनुसार असिना पानीसँगै आएको पहिरो, ढुंगा–माटोले सडक पूर्ण रूपमा बन्द बनाएको हो। तर, सम्बन्धित निकाय तथा स्थानीय सरकारले सडक मर्मत तथा सञ्चालनमा ल्याउने कार्यमा ढिलाइ गर्दा समस्या झन् जटिल बन्दै गएको छ।
सडक अवरुद्धसँगै त्यस क्षेत्रका विकास निर्माणका कामसमेत प्रभावित भएका छन्। निर्माण सामग्री ढुवानी गर्न नसक्दा चालु योजनाहरू ठप्प भएका छन् भने समयमै काम सम्पन्न नहुने जोखिम बढेको निर्माण व्यवसायी गणेश बहादुर थापाले बताएका छन्।
यता, असिना पानीले स्थानीयले लगाएको अन्नबालीमा पनि ठूलो क्षति पुर्याएको छ। विशेषगरी गहुँ, तरकारी बाली लगायतका बाली नष्ट हुँदा किसानहरू चिन्तित बनेका छन्। यसले स्थानीयको जीविकोपार्जनमा समेत असर पर्ने देखिएको छ।
स्थानीय बासिन्दाले सडक यथाशीघ्र मर्मत गरी यातायात सेवा सुचारु गर्न तथा कृषिमा भएको क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।











