दाङ । युवा लेखक क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’माथि दाङमा अन्तरक्रिया गरिएको छ ।
अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालय दाङको आयोजनामा आइतबार घोराहीमा ‘तोरकीन संवाद’ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा तोरकीन उपन्यासमाथि हरिप्रसाद पौडेलले समीक्षात्मक टिप्पणी गरे । उनले यो उपन्यासले मानवता, पर्यावरण र प्रेमको मीठो संयोजन गरेको बताए ।
पौडेलले यस उपन्यासले माथिल्लो मुस्ताङको संस्कृति, प्रथा, परम्परा, भूगोल, जनजीवन, दरबार र गुम्बाको सामाजिक, सांस्कृतिक इतिहासलाई गहिरोसँग उत्खनन् गरेको बताए । किताबमा भनिएजस्तै उनले उपन्यासले पाठकलाई मानव सभ्यताको जरामा पुर्याउने उल्लेख गरे ।
‘प्रेम, मावनता र पर्यावरणको आलोकमा लेखिएको यस उपन्यासले कथा र पात्रमार्फत् धेरै कुरा भनेको छ । लेखन सरल र गहन छ । मलाई लाग्छ तोरकीन मौलिक र खोजमा आधारित उपन्यास रुचाउनेहरुका लागि पढ्नैपर्ने पुस्तक हो’, पौडेलले भने ।
हिमाली सभ्यताको जानकारी दिएको उपन्यासले यसको संरक्षणप्रति चिन्ता समेत व्यक्त गरेको उल्लेख गरे । हराउँदै गएका सामाजिक, सांस्कृतिक पक्ष, चरनक्षेत्र र पशुपालन तथा मानिस–मानिसबीचको सम्बन्धका विभिन्न पाटालाई उपन्यासले सुललित रुपमा प्रस्तुत गरेको पौडेलले बताए ।
‘लेखकको कथा भन्ने शैली मीठो, सरल र काव्यिक छ । इतिहास र मिथकका कुरालाई पनि लेखकले मीठोसँग लेख्नुभएको छ । समग्रमा यो उपन्यास नेपाली मौलिकताको आँखीझ्याल हो । कसैले पनि यसलाई उहाँको पहिलो उपन्यास भन्न सक्दैन । निकै माझिएको र खारिएको लेखन छ’, पौडेलले भने ।
यस्तै, कार्यक्रममा साहित्यकार तथा उपप्राध्यापक डा. टीकाराम उदासीले उपन्यासमा कविताको स्वाद मिसिएको बताए । उनले कुनै पनि समुदाय र भूगोललाई केन्द्र बनाएर किताब लेख्नु निकै जोखिमपूर्ण हुने भए पनि यसमा लेखक क्षितिज समर्पण सफल रहेको बताए ।
यस्तो खोजमूलक उपन्यास सानो महेनत, लगन र समयको लगानीबिना नहुने भन्दै लेखक बधाईको हकदार रहेको साहित्यकार उदासीको भनाइ छ ।
‘उहाँ साहित्य लेखिरहेको वा लेख्ने सोँच बनाएकाहरुका लागि पनि प्रेरणा बन्न सक्नुहुन्छ जस्तो लाग्छ, किनकि संवेदनशील विषयलाई पनि खोज, अनुसन्धानबाट यस्तो राम्रो आख्यानिकरण गर्न सकिँदोरहेछ भनेर उहाँले आफूलाई प्रमाणित गर्नुभएको छ’, उदासीले भने ।
कार्यक्रममा लेखक क्षितिज समर्पणले हिमाली सभ्यता र संस्कृतिलाई बुझ्न आवश्यक रहेको बताए । उनले नेपाल विविध मौलिकतामा बाँचिरहेको मुलुक रहेकाले नेपालभित्रै रहेक अनेक मौलिक संस्कृतिलाई बुझ्न, पढ्न सक्नुपर्ने बताए ।
‘हिमाल भनेको केवल सेतो हिउँ मात्रै होइन, हिमालको काखमा आदिम सभ्यता बाँचिरहेको छ । जसलाई बुझ्न, सुन्न र पढ्न सक्नुपर्छ । मैले त्यही सानो कोसिस मात्र गरेको हुँ । अझ त्यहाँका विषयमा थुप्रै कथा लेखिन बाँकी छन् । भन्न बाँकी छन्’, लेखक क्षितिजले भने, ‘जसरी हिमालबाट हिउँ हराउँदै जान थालेको छ, त्यसरी नै हाम्रा आदिम सभ्यताहरु हराउनु हुँदैन । संस्कार, संस्कृति, रहनसहन हराउनु हुँदैन । जसलाई कसै न कसैले जोगाउनुपर्छ ।’
उनले उपन्यासको केन्द्रीय भूमि माथिल्लो मुस्ताङको चराङ गाउँ र त्यहीँका मानिसहरू केन्द्रीय पात्र भए पनि तोरकीन नेपालका ग्रामिण गाउँ र त्यस गाउँसँग जोडिएको सभ्यता र विकासक्रमको कथा रहेको उल्लेख गरे ।
‘मुस्ताङका पहिलो राजा आमेपालले चराङ दरबार बनाउने मिस्त्रीको हात किन काटे ? अहिले पनि त्यो हात दरबारमै किन राखिएको छ ? यारतुङ, फाग्नी, तिजी किन मनाइन्छ ? काङ्योर पूजाको महत्व के हो ? किन तिब्बतका धर्मगुरु ङोर्छेन कुङ्गा साङ्बोले राजा आमेपालले सम्मानस्वरुप दिएको धोर्जेदेन गुम्बा लिन अस्वीकार गरे ? तिम्बतको साम्ये गुम्बा र मराङको घार गुम्बाबीचको साइनो के हो ?’, लेखक क्षितिजले भने, ‘किन माथिल्लो मुस्ताङमा मान्छेको लास काटेर गिद्धलाई खुवाइन्छ ? त्यहाँको जन्म, बिहे र मृत्यु संस्कार कस्तो छ ? यी कुराबारे रोचक जानकारी समेत तोरकीन पढेपछि थाहा हुन्छ ।’
उनले तोरकीन आफ्नो लामो समयको मेहनत र सपनाको प्रतिफल रहेको सुनाए । ‘यसपछि लेख्ने उपन्यास तोरकीनजस्तो सशक्त लेख्न सक्छु कि सक्दिनँ थाहा छैन । तर तोरकीन मेरो लामो समयको सपना हो । मेहनत र लगनको प्रतिफल हो’, उनले भने ।
अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसीले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता सर्वोदय पुस्तकालय तथा वाचनालयका कावा अध्यक्ष चन्द्रराज पन्तले गरेका थिए ।











