४ मंसिर २०८३, बिहीबार

जाजरकोट भूकम्प पीडितको माइतीघरमा प्रदर्शन, पुनर्निर्माणमा ढिलाइप्रति आक्रोश

प्रेम विश्वकर्मा

काठमाडौँ । जाजरकोटका भूकम्प पीडितहरूले पुनर्निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। सोमबार आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारको उदासीनताका कारण आफूहरू अझै पनि अस्थायी टहरामै बस्न बाध्य भएको गुनासो गरेका छन्।

वि.सं. २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–रामिडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र सल्यानमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। उक्त विपद्ममा १५० भन्दा बढीको ज्यान गएको थियो भने हजारौँ घरपरिवार विस्थापित भएका थिए। तर भूकम्प गएको करिब तीन वर्ष बित्न लाग्दा पनि पुनर्निर्माण प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै पीडितहरू आन्दोलित बनेका हुन्।

प्रदर्शनका क्रममा पीडितहरूले अस्थायी आवास अनुदान वितरणमा भएको ढिलाइ, क्षति मूल्यांकनमा देखिएको त्रुटि र लाभग्राही पहिचानमा भएको अन्योल तत्काल समाधान गर्न माग गरेका छन्। उनीहरूले कच्ची संरचनामा बसोबास गर्ने नागरिकलाई भूकम्प प्रतिरोधी घर निर्माणमा जोड दिनुपर्ने, जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक अध्ययन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र जाजरकोट दरबारलगायत क्षतिग्रस्त संरचनाको पुनर्निर्माण शीघ्र सुरु गर्नुपर्ने धारणा राखेका छन्।

अभियन्ता प्रेम विश्वकर्मा ले भूकम्प प्रभावित नागरिकहरूले दैनिक रूपमा भोग्दै आएको समस्या समाधानका लागि सरकारलाई दबाब दिन आन्दोलन सुरु गरिएको बताए। उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने, प्रभावित युवाहरूका लागि रोजगारीको व्यवस्था गर्नुपर्ने तथा ढिलासुस्तीप्रति राज्यले जिम्मेवारी स्वीकार गर्दै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत राखिएको छ।

२२ बैशाख २०८३, मंगलवार ०८:१६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्