जाजरकोट । निर्माण सामग्रीमा भएको अत्याधिक मूल्यवृद्धिको विरोध गर्दै जाजरकोटका निर्माण व्यवसायीहरूले धर्ना कार्यक्रम आयोजना गरेका छन्। निर्माण व्यवसायी संघ जाजरकोटको आयोजनामा बिहीबार गरिएको धर्नामा व्यवसायीहरूले मूल्यवृद्धिका कारण विकास निर्माणका अधिकांश आयोजना प्रभावित भएको बताएका छन्।
निर्माण व्यवसायीहरूले इन्धन लगायतका निर्माण सामग्रीको मूल्य अप्रत्यासित रूपमा बढ्दा ठेक्का सम्झौता अनुसार काम गर्न कठिन भएको गुनासो गरेका छन्। उनीहरूले हालको मूल्यवृद्धिका कारण धेरै आयोजना स्वः बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै नेपाल सरकारसमक्ष मूल्य समायोजनको व्यवस्था गर्न माग गरेका छन्।
धर्ना कार्यक्रममा सहभागी व्यवसायीहरूले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले निर्माण व्यवसाय मात्र नभई समग्र विकास निर्माण कार्य नै प्रभावित भएको बताएका थिए। उनीहरूले समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।

प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण पत्र बुझाउदै निर्माण व्यवसायी
निर्माण व्यवसायी संघ जाजरकोटका उपाध्यक्ष भिम बहादुर शाहका अनुसार मूल्य समायोजन तथा व्यवसायीका माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो ।











