जाजरकोट । भेरी नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा नगरपालिकास्तरीय माटो परीक्षण शिविर सम्पन्न गरिएको छ । जेठ ५ र ६ गते भेरी नगरपालिकाको कार्यालयमा सञ्चालन गरिएको शिविरमा १०७ जना कृषकहरूको माटो परीक्षण गरिएको हो ।
शिविरमा कृषकहरूले ल्याएका माटोका नमुनाको परीक्षण गर्दा अधिकांश माटो अम्लिय प्रकृतिको भेटिएको छ । परीक्षण अनुसार ७५ नमुनाको पि.एच. अम्लिय, ३२ नमुनाको तटस्थ तथा क्षारिय माटो शून्य रहेको पाइएको छ ।
यस्तै, नाइट्रोजनको मात्रा कम भएका १, मध्यम ८८ र अधिक १८ नमुना भेटिएका छन् । फस्फोरसतर्फ कम शून्य, मध्यम १ र अधिक १०६ नमुना रहेको छ भने पोटासको मात्रा कम भएका २२, मध्यम ६० र अधिक २५ नमुना रहेको भेरी नगरपालिका कृषि विकास शाखा प्रमुख ट्वीङ्कल वलीले जानकारी दिनुभयो ।
कृषकहरूलाई आफ्नो खेतबारीको माटोको अवस्था पहिचान गरी आवश्यक मल तथा पोषण व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । माटो परीक्षणबाट उत्पादन वृद्धि तथा वैज्ञानिक खेती प्रणाली अपनाउन सहज हुने अपेक्षा गरिएको छ ।











