४ मंसिर २०८३, बिहीबार

छेडागाडमा नेपाली सेनाद्वारा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न, २५८ जनाले सेवा लिए

कर्णाली अपडेट

जाजरकोट । नेपाली सेनाले दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविर जाजरकोटको छेडागाड नगरपालिका–५ बडावनस्थित नगर अस्पताल परिसरमा सम्पन्न भएको छ ।

श्री उत्तर पश्चिम पृतना हे.क्वा. अन्तर्गत हिमाली, पहाडी तथा तराई क्षेत्रमा सञ्चालन गरिने बृहत् स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत श्री भवानीदल गण जाजरकोट र छेडागाड नगरपालिकाको आयोजनामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा नेपाली सेनाका डा. अधिकृतसहित ७ जना स्वास्थ्यकर्मी तथा जिल्ला अस्पताल र नगर अस्पतालका चिकित्सकसहित ९ सदस्यीय संयुक्त टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । टोलीले बालरोग, महिला रोग, दीर्घरोग, हाडजोर्नी तथा जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराएको जनाएको छ ।

शिविरमार्फत कुल २५८ जना सेवाग्राही लाभान्वित भएका छन् । जसमध्ये १५८ जना महिला र १०० जना पुरुष रहेका छन् । साथै विभिन्न ५२ प्रकारका औषधि निःशुल्क रूपमा वितरण गरिएको श्री भवानीदल गणका गणपति गोविन्द थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरको निरीक्षणका क्रममा श्री नं. ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति, छेडागाड नगरपालिकाका उपप्रमुख, जाजरकोटका प्रमुख जिल्ला अधिकारी, श्री भवानीदल गणका गणपति, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको समेत उपस्थिति रहेको थियो ।

स्थानीय नागरिकहरूले आफ्नै गाउँठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त भएकोमा खुसी व्यक्त गर्दै नेपाली सेनाप्रति आभार प्रकट गरेका छन् । छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले यस्ता कार्यक्रमले ग्रामीण भेगका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै नेपाली सेनालाई विशेष धन्यवाद दिएका थिए ।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न नेपाली सेनाले सञ्चालन गर्दै आएका यस्ता शिविरहरू स्थानीय बासिन्दाका लागि प्रभावकारी र उपयोगी बन्दै गएको स्थानीयको भनाइ छ ।

११ जेष्ठ २०८३, सोमबार ०७:१३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्