जाजरकोट । विश्व वातावरण दिवसको अवसरमा जाजरकोटमा ‘एक बालबालिका, एक बिरुवा’ अभियान सञ्चालन गरिएको छ । बालबालिकालाई वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीबारे सचेत बनाउने उद्देश्यसहित अभियानको उद्घाटन गरिएको हो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहजीकरणमा सञ्चालन गरिएको उक्त अभियान भेरी नगरपालिका र नलगाड नगरपालिकामा कार्यान्वयन हुने भएको छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसर पारेर सञ्चालन गरिएको अभियानअन्तर्गत करिब ५ हजार ६ सय ३० जना बालबालिकाले सुन्तला र लिचीका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

“Plant Trees, Plant Hope” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा भेरी नगरपालिका र नलगाड नगरपालिकाका हजारौँ बालबालिका सहभागी हुने पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिए ।
उनका अनुसार अभियानमार्फत बालबालिकाले जलवायु परिवर्तन, बढ्दो विश्वव्यापी तापक्रम तथा वातावरणीय चुनौतीविरुद्ध आफ्नो भविष्य सुरक्षित बनाउन व्यक्तिगत, विद्यालय तथा समुदाय स्तरमा वृक्षारोपण गर्नेछन् ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालले बालबालिकालाई जलवायु परिवर्तनका असर तथा त्यसबाट सिर्जित समस्याको समाधानमा सक्रिय सहभागी गराउने उद्देश्यले अभियान सुरु गरिएको जनाएको छ । अभियानअन्तर्गत बालबालिकाले आफ्ना परिवार, शिक्षक, स्थानीय तह तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी वृक्षारोपण कार्यमा सहभागी हुनेछन् ।
स्थानीय पारिस्थितिकीय प्रणालीअनुसार उपयुक्त बिरुवाको छनोटका लागि स्थानीय सरकार, जिल्ला वन कार्यालय तथा कृषि विकास कार्यालयसँग आवश्यक समन्वय गरिएको आयोजकले जनाएको छ ।












