जाजरकोट । ५४औँ विश्व वातावरण दिवसको अवसरमा छेडागाड नगरपालिका वडा नं. १२ स्थित नारायणी माध्यमिक विद्यालयमा विविध वातावरणीय कार्यक्रम सम्पन्न गरिएको छ ।
सेभ द चिल्ड्रेन (SCI) द्वारा वित्तपोषित माई फरेस्ट चाइल्ड (MFC) परियोजना तथा सहयात्रा–III परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, बाल तथा युवा सञ्जालका सदस्य तथा नर्सरी व्यवसायीलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ तथा स्वच्छता अभियान सञ्चालन गरिएको थियो । विद्यार्थीहरूको सक्रिय सहभागितामा प्लास्टिकजन्य फोहोर संकलन गरी कुहिने र नकुहिने फोहोरको छुट्टाछुट्टै वर्गीकरण गरिएको थियो । यस अभियानले उचित फोहोर व्यवस्थापन र वातावरणीय उत्तरदायित्वबारे सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।
यसैगरी बालबालिकाको नेतृत्वमा वातावरण संरक्षणसम्बन्धी सन्देश लेखिएका प्लेकार्डसहित सचेतनामूलक र्याली निकालिएको थियो । विद्यालयबाट सुरु भएको र्याली बजार तथा मुख्य बस्ती क्षेत्र परिक्रमा गरी पुनः विद्यालय परिसरमै पुगेर सम्पन्न भएको थियो । र्यालीमार्फत समुदायस्तरसम्म वातावरण संरक्षणको सन्देश पुर्याइएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा बाल नेतृत्वमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो । विद्यालयको आवश्यकता अनुसार कुल ५५ वटा बिरुवा रोपिएको परियोजनाले जनाएको छ । जसअनुसार ३५ वटा तेजपात, ५ वटा रिठ्ठा, १० वटा बकाइनो तथा ५ वटा अमलाका बिरुवा रोपिएका छन् ।

रोपिएका बिरुवाहरू MFC परियोजनाबाट सहयोग प्राप्त सामुदायिक वन नर्सरीमार्फत उपलब्ध गराइएको थियो ।
बिरुवाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न प्रत्येक बिरुवामा बाँसबाट निर्मित ट्री गार्ड जडान गरिएको छ । साथै बिरुवाको स्याहार–सम्भार, नियमित सिँचाइ, गोडमेल तथा चरिचरणबाट संरक्षण गर्ने जिम्मेवारी विद्यार्थीहरूलाई नै प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले वृक्षारोपण संरक्षण तथा हेरचाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्दै घोषणा–पाटीमा हस्ताक्षर गरेका थिए ।

सन् २०२३ देखि सञ्चालन हुँदै आएको माई फरेस्ट चाइल्ड परियोजनाले विद्यालयमा वातावरणीय तथा जलवायु शिक्षाको प्रवर्द्धन, वृक्षारोपण, फोहोर व्यवस्थापन, जलवायु परिवर्तनसम्बन्धी REFLECT सत्र सञ्चालन तथा SHIFT अभियानमार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ ।
“प्रकृतिबाट प्रेरित : जलवायुकालागि, हाम्रो भविष्यका लागि” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले बालबालिकाको नेतृत्वमा वातावरण संरक्षण, सामूहिक सहभागिता र दिगो भविष्य निर्माणतर्फको जिम्मेवारीबोधलाई थप मजबुत बनाएको आयोजकको विश्वास रहेको छ ।












