४ मंसिर २०८३, बिहीबार

कुशे गाउँपालिकामा वृक्षारोपणसँगै वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । विश्व वातावरण दिवसको अवसरमा कुशे गाउँपालिकामा वृक्षारोपण सँगै वक्तृत्वकला सम्पन्न भएको छ ।

कुशे गाउँपालिका, जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक परियोजना) तथा सहास नेपालको सहकार्यमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रम अन्तर्गत वडा नं. ६ को टिनेखोला क्षेत्रमा पहिरो जोखिम न्यूनीकरणलाई लक्षित गर्दै वृक्षारोपण गरिएको थियो। वृक्षारोपणले हरियाली विस्तारसँगै पहिरो नियन्त्रण, भू–संरक्षण तथा जलाधार जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सोहि अवसरमा अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । “वातावरण संरक्षण: आजको आवश्यकता, भोलिको सुरक्षा” विषयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले जलवायु परिवर्तन, वन संरक्षण, जैविक विविधता र दिगो विकासका विषयमा सशक्त विचार प्रस्तुत गरेका थिए।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय पैँककी राजेश्वरी आर.सी. प्रथम, मान्नेढुंगा माध्यमिक विद्यालयका ओमप्रकाश शाही द्वितीय तथा नेरा माध्यमिक विद्यालय समाकोटकी अरुणिमा तिरुवा तृतीय भएका थिए । यस्तै, खगेन्द्र सिंहले सान्त्वना स्थान प्राप्त गरेका थिए। विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो।

पुरस्कार वितरण समारोहमा गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले विद्यार्थीहरू वातावरणीय परिवर्तनका सशक्त संवाहक बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर भण्डारीले विकास र वातावरणबीच सन्तुलन कायम गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो।

लक परियोजनाका परियोजना अधिकृत रबिन्द्र बिक्रम शाहीले जलवायु परिवर्तनका असर पहाडी क्षेत्रमा झन् स्पष्ट बन्दै गएको उल्लेख गर्दै स्थानीय तहमा वातावरणीय सचेतना अभिवृद्धि गर्नु समयको आवश्यकता भएको धारणा राख्नुभयो।

कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षणलाई केवल एक दिवसमा सीमित नराखी दैनिक व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।

२२ जेष्ठ २०८३, शुक्रबार १८:५७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्