३ मंसिर २०८३, बुधबार

जाजरकोटको कुशेमा नि:शुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न: ५१ जनाको शल्यक्रिया

कर्णाली अपडेट

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिकामा दुई दिने नि:शुल्क मोतिविन्दु शल्यक्रिया शिविर भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविरबाट दर्जनौँ बिरामीले नयाँ दृष्टि पाएका छन्।

नेपाल रेडक्रस सोसाइटी, सामुदायिक आँखा उपचार सेवा केन्द्र जाजरकोट र च्यारिटि हेल्थ फाउन्डेसन धनगढी ४, कैलालीको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगन्ज, बाँकेले प्राविधिक सहयोग प्रदान गरेका थिए।

गाउँपालिकाका ६ वटा विभिन्न स्थानमा जेठ २८ देखि ३० गतेसम्म सञ्चालित प्रारम्भिक स्वास्थ्य परीक्षणबाट ८६८ जनाले सेवा लिएका थिए। सोही क्रममा मोतिविन्दु पहिचान गरिएका १०२ जना बिरामीमध्ये २५ पुरुष र २६ महिला गरी कुल ५१ जनाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। साथै, शिविरकै अवसरमा शारीरिक रूपमा अपांगता भएका ११ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका बालकल्याण अधिकारी किरण आर.सी.ले जानकारी दिए।

शिविरको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष एवं अपांगता परिचयपत्र वितरण समन्वय समितिकी संयोजक देविका कुमारी सिंहले भौगोलिक विकटता, आर्थिक अभाव र स्वास्थ्य चेतनाको कमीले गर्दा नागरिकहरू उपचारबाट वञ्चित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै आगामी बजेटमा आँखा उपचार केन्द्र स्थापनाका लागि बजेट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसैगरी, गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले नागरिकहरू उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले यस्ता शिविरलाई निरन्तरता दिने बताए। उनले भने, “नागरिकको सहज जीवनयापनका लागि हामी प्रतिबद्ध छौँ। आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको थप उपचारका लागि गाउँपालिकाले विशेष सहयोग गर्नेछ।”

दुर्गमका नागरिकलाई गाउँमै विशेषज्ञ सेवा प्रदान गर्न सफल भएको यो शिविरले स्थानीयवासीमा ठूलो राहतको महसुस गराएको छ।

 

३ असार २०८३, बुधबार ०९:५२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्