४ मंसिर २०८३, बिहीबार

जलवायु-मैत्री कृषि प्रवर्द्धनका लागि अगुवा कृषक तालिम सम्पन्न

कर्णाली अपडेट

जाजरकोट, असार १८ । कुशे गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACC) को संयुक्त आयोजनामा सञ्चालित तीन दिने “जलवायु उत्थानशील तथा समावेशी कृषि व्यवसाय प्रवर्द्धनका लागि अगुवा कृषक तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।

असार १६ गतेदेखि १८ गतेसम्म कुशे गाउँपालिकाको सभा हल, थर्पु भार्मामा सञ्चालन गरिएको उक्त तालिममा गाउँपालिकाका नौवटै वडाका अगुवा कृषक तथा परियोजना अन्तर्गत सञ्चालित विभिन्न योजनाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

तालिममा प्रत्येक वडाबाट कम्तीमा एक जना महिला सहित दुई जना प्रतिनिधि तथा भार्मा खानेपानी तथा सरसफाइ योजना, तर्पेना सिँचाइ योजना, नमुना हरितघर निर्माण योजना र स्याला चौतारा अलैँची खेती तथा संरक्षण योजनाका प्रतिनिधिहरू सहभागी भएका थिए । कुल २६ जना सहभागी, दुई जना प्रशिक्षक तथा गाउँपालिका र परियोजनाका प्रतिनिधिसहित ३२ जनाको उपस्थिति रहेको थियो ।


तालिमको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण, असर र स्थानीय अनुकूलनका उपायबारे जानकारी प्रदान गर्नुका साथै जलवायु-मैत्री कृषि प्रविधि, माटो तथा पानी व्यवस्थापन, कृषि वन अभ्यास, घरबगैँचा व्यवस्थापन, मौसमी तथा बेमौसमी तरकारी उत्पादन र एकीकृत रोगकिरा व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप विकास गर्नु रहेको थियो ।

तालिमको सहजीकरण कृषि शाखाका कृषि प्राविधिक चन्द्र बहादुर पुन र धिरेन्द्र बस्नेतले गर्नुभएको थियो । तालिम अवधिभर प्रस्तुतीकरण, समूहगत छलफल, प्रयोगात्मक अभ्यास तथा अनुभव आदानप्रदानमार्फत सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागीहरूलाई जलवायु-मैत्री कृषि प्रविधिको प्रयोग, स्थानीय स्रोत र साधनको प्रभावकारी उपयोग, पोषण सुधारका लागि घरबगैँचा व्यवस्थापन तथा आयआर्जनमुखी कृषि व्यवसाय विकासका विषयमा विशेष जानकारी दिइएको थियो । साथै, व्यावहारिक सिकाइलाई थप प्रभावकारी बनाउन विभिन्न कृषि सामग्री तथा बीउबिजनसमेत वितरण गरिएको थियो ।

तालिमको समापन कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंह, परियोजना फोकल व्यक्ति तथा सदस्य सचिव लालभक्त शाही, कृषि शाखाका प्रतिनिधि तथा परियोजनासँग सम्बद्ध पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

समापन समारोहमा LACC परियोजना अधिकृत रबिन्द्र बिक्रम शाहीले तालिमको समग्र समीक्षा तथा उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न जलवायु उत्थानशील कृषि अभ्यासलाई समुदायस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र तथा कृषि सामग्री वितरण गरिएको थियो ।

सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायस्तरसम्म विस्तार गरी जलवायु-मैत्री तथा दिगो कृषि प्रणाली विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

१८ असार २०८३, बिहीबार १९:५० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्