४ मंसिर २०८३, बिहीबार

जाजरकोटमा हराएको मोबाइल भेटाएर महिलालाई ब्ल्याकमेल गर्दै ५० हजार माग्ने युवक पक्राउ

कर्णाली अपडेट

जाजरकोट । एक महिलाको हराएको मोबाइल भेटाएर उल्टै चरित्र हत्या गर्ने धम्की दिई रकम असुल्न खोज्ने एक युवकलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १३, काडासोती बस्ने अन्दाजी २७ वर्षीय अमर परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार गत असार १३ गते राति अन्दाजी ९:०० बजे छेडागाड नगरपालिका–१२, कार्कीगाउँकी राज कुमारी शाहीको मोबाइल हराएको थियो ।

उक्त मोबाइल भेटाएका आरोपित परियारले मोबाइलको लक कोड तोडी महिलाका आफन्तहरूलाई अपशब्द प्रयोग गरी विभिन्न म्यासेजहरू पठाएको प्रहरीले जनाएको छ। आरोपितले पीडित महिलाको परिवारको बदनाम गर्ने, चरित्र हत्या गर्ने र अपमानित गर्ने जस्ता कार्य गर्दै डर त्रास देखाएर ५० हजार रुपैयाँ समेत माग गरी हैरानी दिएको खुल्न आएको छ।

उक्त घटनाबारे सूचना प्राप्त हुनासाथ खोजतलासमा खटिएको प्रहरी टोलीले आरोपित अमर परियारलाई असार १८ गते बिहान ५:०० बजे आफ्नै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका निजलाई सोही दिन जाजरकोट जिल्ला अदालतबाट ‘अपराधिक लाभ सम्बन्धी कसुर’मा ७ (सात) दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

१८ असार २०८३, बिहीबार २०:०९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्