जाजरकोट । डिभिजन वन कार्यालय, जाजरकोटले ‘सगरमाथा वृक्षरोपण महाअभियान–२०८३’ लाई तीव्रता दिएको छ ।
गत असार १४ गतेदेखि शुभारम्भ भएको यस महाअभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा निरन्तर वृक्षरोपण कार्यक्रम अगाडि बढाइएको हो। नाङ्गा र खाली डाँडाहरूलाई हराभरा बनाउने तथा जडीबुटी उत्पादन बढाउने उद्देश्यका साथ कार्यालयले वृक्षरोपणलाई अभियानकै रूपमा अघि बढाएको छ।
कार्यालयले आफ्नो बहुवर्षीय नर्सरीमा उल्लेख्य मात्रामा बिरुवा उत्पादन गरिरहेको छ। नर्सरीमा रिठ्ठा, अमला, लप्सी, धुपी, टिमुर, तेजपात, काउलोलगायतका करिब ५० हजार बिरुवा उत्पादन भइरहेका छन्।

यसरी उत्पादन गरिएका बिरुवाहरू जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा करिब १५ हेक्टर खाली क्षेत्रमा रोप्ने योजना रहेको डिभिजन बन कार्यालय जाजरकोटका डिभिजनल बन अधिकृत दिपेश केसीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयले जिल्लाभर करिब ३३ हेक्टर खाली क्षेत्रमा वृक्षरोपण गर्ने बृहत् लक्ष्य राखेको छ। वनलाई आयआर्जनसँग जोड्ने नीतिअनुरूप सामुदायिक, कबुलियती वन उपभोक्ता समूह र निजी वनसँगको साझेदारीमा जडीबुटी खेतीलाई पनि विशेष प्राथमिकता दिइएको छ। जसअन्तर्गत जिल्लाका विभिन्न वन क्षेत्रमा टिमुर, तेजपात, बोधिचित्त, ओखर, अमला, चिउरी, सतुवालगायतका ३७ हजार जडीबुटी प्रजातिका बिरुवाहरू रोप्ने कार्य भइरहेको केसीले बताउनु भयो ।
वृक्षरोपणलाई निरन्तरता दिने क्रममा भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वनमा मंगलबार अमला, रिठ्ठा, सिसौँ र खयरलगायतका २ हजार बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ।
स्थानीय उपभोक्ताहरूको सहभागितामा उक्त वृक्षरोपण गरिएको हो। त्यसैगरी, बुधबार सोही वडामा रहेको असोजे सामुदायिक वनको नदी उकास (बगर) क्षेत्रमा थप ८ सय खयर र सिसौँ प्रजातिका बिरुवा रोप्ने कार्यक्रम तय भएको डिभिजन वन कार्यालय, जाजरकोटले जनाएको छ।
नदी उकास क्षेत्रमा गरिने यस्तो रोपणले भूक्षय रोक्न र हरियाली बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।











