जाजरकोट । बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्दै सिकाइ वातावरणलाई थप सहज बनाउने उद्देश्यले भेरी नगरपालिका–११ का ४ सय ९८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
वल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्वारा सञ्चालित SHIELD परियोजनाअन्तर्गत झोला, कपी लगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।

परियोजनामार्फत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका तथा जोखिममा रहेका बालबालिकालाई विद्यालय शिक्षामा नियमित सहभागिता गराउन र उनीहरूको सिकाइलाई थप प्रभावकारी बनाउन सहयोगस्वरूप सामग्री वितरण गरिएको जनाइएको छ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवि पन्तले परियोजनाअन्तर्गत आगामी दिनमा पनि लक्षित समुदायका बालबालिकासम्म आवश्यक शैक्षिक तथा अन्य सहयोग निरन्तर पुर्याइने बताउनुभयो। उहाँका अनुसार बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा सबैभन्दा प्रभावकारी माध्यम भएकाले उनीहरूको शिक्षामा पहुँच र निरन्तरताका लागि यस्ता कार्यक्रम सञ्चालन गरिएको हो।
SHIELD परियोजनाअन्तर्गत सञ्चालित यस अभियानले बालबालिकाको शैक्षिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै समुदायमा शिक्षा, अवसर र समावेशी विकासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।











