जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी २५ वर्षीय गोपाल बुढाथोकी र सोही ठाउँ बस्ने अन्दाजी २७ वर्षीय गोपाल भन्ने गोबिन्द बि.क. रहेका छन ।
उनीहरूको साथबाट ३८० (तीन सय असी) मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
उनीहरूलाई सोमबार बेलुका अन्दाजी ८:३० बजे जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ मटेलास्थित झोलुङ्गे पुल नजिकैको सार्वजनिक सडक खण्डबाट पक्राउ गरिएको हो ।
उनीहरु मटेलादेखि रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जाजरकोट जिल्ला अदालतबाट लागुऔषध (ब्राउन सुगर) मुद्दामा ७ (सात) दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिनुभयो।












