जाजरकोट । जाजरकोट प्रहरीले भारी मात्रामा लागूऔषध (अफिम) सहित दुई जना महिलालाई पक्राउ गरेको छ।
जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ९ स्थित सक्ला बजारबाट ४ किलो अफिमसहित दाङका दुई महिला पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ बस्ने अन्दाजी ४० वर्षीया मन कुमारी घर्ती र सोही उपमहानगरपालिकाको वडा नं. १८ बस्ने अन्दाजी ४५ वर्षीया माया घर्ती रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीका अनुसार साउन २ गते बिहान सक्ला बजारमा अपरिचित मानिसहरुले लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा प्रहरी चौकी सक्ला र जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा बिहान करिब ८:३० बजे उनीहरुलाई पक्राउ गरेको हो।
शंकास्पद अवस्थामा रहेका उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध (अफिम) जस्तो देखिने कालो अर्धठोस गिलो पदार्थ ४ किलो बरामद भएको छ।
यसका साथै उनीहरुको साथबाट नगद १० हजार १ सय १० रुपैयाँ र २ थान मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी (प्रहरी निरीक्षक) सुधिर कुमार खड्काले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई जाजरकोट जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप अनुमति लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।












