जाजरकोट । अविरल वर्षासँगै आएको पहिरोबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकाका करिब ७ सय जनालाई एक साताका लागि पुग्ने खाद्यान्न राहत वितरण गरिएको छ।
गत साउन ३० गतेदेखि परेको लगातारको वर्षाका कारण भेरी नगरपालिका–१ देखि ४ सम्मका विभिन्न क्षेत्रमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बस्न बाध्य भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको विवरणअनुसार हाल करिब ७ सय प्रभावित नागरिक चार वटा अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका छन्।
विपद्को तत्कालीन प्रतिकार्यस्वरूप पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालले प्रभावित परिवारलाई एक सातासम्म पुग्ने खाद्यान्न राहत वितरण गरेको हो।
राहत सामग्रीमा मन्सुली मसिनो चामल ११६ बोरा, दाल ९४ किलो, तोरीको तेल ८३ लिटर, चिनी ५५ किलो, आलु ११० किलो र नुन ५५ किलो रहेको छ। उक्त राहत सामग्रीको कुल लागत २ लाख ५७ हजार ४ सय ५ रुपैयाँ रहेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिनुभयो।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट प्रभावितको संख्या यसअघि गरिएको प्रारम्भिक अनुमानभन्दा बढी रहेको पाइएपछि राहत चार वटा आश्रयस्थलमा वितरण गरिने भएको छ। विजय प्रावि स्याला, महिला सुरक्षित आश्रयस्थल थाप्ले, त्रिभुवन आधारभूत विद्यालय रिसाङ र विष्णु प्रावि दार्नेटामा रहेका प्रभावितलाई राहत सामग्री उपलब्ध गराइनेछ।
लगातारको वर्षा र पहिरोका कारण घर, सडक, खानेपानीलगायतका संरचनामा क्षति पुगेपछि प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको छ। तत्कालका लागि खाद्यान्न राहत उपलब्ध गराइए पनि सुरक्षित आवास, खानेपानी तथा अन्य आधारभूत आवश्यकताको व्यवस्थापनमा थप सहयोग आवश्यक रहेको स्थानीयले बताएका छन्।











