जाजरकोट । छेडागाड नगरपालिकाले बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
नगरपालिकाले जारी गरेको छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत जाजरकोट जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने जनाएको हो।
नगरपालिकाले जाजरकोटसहित देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ।
त्यस्तै, गत साउन ३० गते जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको विनाशकारी पहिरोबाट ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै जिल्ला विपद् व्यवस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
नगरपालिकाले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै पहिरो तथा बाढीमा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन परिस्थितिमा धैर्य धारण गर्दै प्रभावित क्षेत्रका नागरिकलाई एकजुट भएर अघि बढ्न नगरपालिकाले आग्रह गरेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्मी तथा स्वयंसेवकसँग निरन्तर सहकार्य र हातेमालो गर्न नगरपालिका सदैव तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
छेडागाड नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा विपद्को समयमा प्रभावित नागरिकलाई राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ।












